विद्या भण्डारीको राजनीतिक सक्रियताः होला त ओलीसँग प्रतिस्पर्धा ?

विद्या भण्डारीको राजनीतिक सक्रियताः होला त ओलीसँग प्रतिस्पर्धा ?

केन्द्रबिन्दु
39
Shares

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी धमाधम नेकपा (एमाले)का कार्यक्रममा देखिन थालेकी छन् । ०७९ फागुन २९ गते राष्ट्रपतिको दुई कार्यकाल पूरा गरी बिदा भएपछि उनी पुनः एमालेमा सक्रिय भएकी हुन् । उनी चपलीस्थित आफ्नै घरमा वडा तहसम्मका एमाले नेता कार्यकर्तासँग भेटघाट गर्ने गरेकी छन् ।

एमालेका नेता कार्यकर्ता र जनसंगनका विभिन्न तहका नेता कार्यकर्ताहरु विभिन्न बहानामा काठमाडौ आउने अधिकांश एमाले नेताकार्यकर्ता हरुलाई दिनको १२ बजे पछि चपली निवासमा सचिवालयका राजकुमार राईमार्फत समय लिएर भेट्न जाने गरेका छन् । विशेष गरी पार्टी नेतृत्वसँग असन्तुष्ट रहेका र पुराना नेता कार्यकर्ताहरु दिनहुँ जसो चपलीमा पुग्ने गरेका छन् ।

भण्डारी आउने नेता कार्यकर्ताहरुलाई आफ्नो कुरा भन्ने भन्दा पनि अरुका कुरा सुन्ने र पार्टी ठिक ढङ्गले नचलेको गुनासो गर्ने गरेकी छन् । उनले एमालेका केन्द्रीयदेखि प्रदेशस्तरीय नेतासँग सबै सँग एक चरण भेटघाट गरिन्। भेटघाटका सन्दर्भमा पार्टीको अवस्था, कार्यकर्ताहरूको मनोदशाबारे उनले चासो राखेको एमालेका नेताहरूले बताएका छन्।

गण्डकी, लुम्बिनी र कोशी प्रदेशको भ्रमणको पनि राजनीतिक भेटवार्तामा समय बिताएकी छन् । भण्डारीले जहाँ पुगे पनि आफ्ना पुराना सहकर्मीदेखि पार्टीका नेताहरूसँग छलफल गर्ने र एकीकृत समाजवादीका नेताहरूलाई समेत भेट्ने गरेकी छन् ।

वि.सं. २०१८ सालमा भोजपुरमा जन्मिएकी विद्यादेवी भण्डारी विद्यार्थी जीवनदेखि नै कम्युनिस्ट राजनीतिमा सक्रिय भण्डारी वि.सं. २०३७ मा महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पस विराटनगरको स्ववियू कोषाध्यक्ष निर्वाचित भएकी थिइन्। २०३९ सालमा तत्कालीन नेकपा मालेका नेता मदन भण्डारीसँग भूमिगत रूपमा विवाह गरेपछि घर गृहस्थीमा रहँदै पार्टी काममा रहेकी विद्या २०५० साल जेठ ३ मा मदन भण्डारीको जीप दुर्घटनामा मृत्यु भएपछि राजनीतिमा पुनः सक्रियता शुरु गरिन् र मदन भण्डारीको निधनपछि रिक्त काठमाडौँ १ मा वि.सं. २०५० सालमै भएको उपनिर्वाचनमा सत्तारुढ नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेपछि राजनीतिमा भण्डारीको राजनैतिक सफलताले शिखर छुन थालेपछि कहिलै पछाडि फर्केर हेर्नु परेन ।

रक्षामन्त्री र वातावरण तथा जनसङ्ख्या मन्त्री, नेपाल कम्युनिस्ट पार्टी (एमाले)की उपाध्यक्ष तथा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष गणतन्त्र नेपालको दुई कार्यकाल राष्ट्रपतिमा निर्वाचित भण्डारीले राष्ट्रपतिमा निर्वाचित भए पछि दल त्याग गरेकी थिइन् भने २०८० साल वैशाखमा पुनः एमालेको सदस्यता नविकरण गरेकी छन् ।

राष्ट्रपतिको कार्यकाल सकिएपछि नेकपा एमालेका सचिव रघुवीर महासेठ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्थायी कमिटी सदस्य कर्ण थापा, सांसद देवी भट्टचन, एमाले नेताहरू गोमा देवकोटा, भेषराज अधिकारी र पत्रकार महासंघका पूर्व अध्यक्ष महेन्द्र विष्टसहितको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भण्डारी चीन जान पुगिन् । १० दिन चीन भण्डारी उच्च महत्त्व दियो भने भण्डारी पूर्व राष्ट्रपति भन्दा पनि एमाले नेताकै रूपमा प्रस्तुत भएकी थिइन् ।

चीन भ्रमण लगतै पूर्वी नेपालको भ्रमणमा निस्किएकी भण्डारी विराटनगरबाट झापा एमालेका प्रदेश इन्चार्ज शेरधन राई, प्रदेश अध्यक्ष घनश्याम खतिवडा, प्रदेश सचिव राजकुमार भण्डारी र सहसचिव देवान राईहरूसँगै एमाले नेताहरु दलबल सहित कोसी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गर्न भण्डारी झापा आइपुगेकी छन् । जहाँ पूर्वराष्ट्रपति भण्डारी एमालेका नेता–कार्यकर्तासँग भेटघाटमा निकै सक्रिय देखिइन्। उनलाई भेट्नेहरूमा पुराना नेता–कार्यकर्ता मात्र छैनन्, नयाँ पुस्ताका युवाहरुको पनि सहभागी छ ।

एमालेको सक्रिय राजनीतिमा आउन चाहेकी भण्डारी अब अध्यक्ष भन्दा तल रहने कुनै सम्भावना नरहेको उनी पक्षीय एक नेताले बताए ।

चितवनमा भएको १०औं महाधिवेशनमा ओलीका प्रतिस्पर्धी रूपमा देखिएका भीम रावललाई गएको पुसमै एमालेले पार्टीबाट बिदाइ गरी गरिसकेको छ । माधव नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल पहिले नै पार्टीबाट बाहिरिसकेका छन्। पार्टीमा रहेकाहरु सबै उपाध्यक्ष र महासचिव ओली रहेसम्म नेतृत्वको दावी गर्ने हिम्मत नगरे सँगै ओलीलाई अब भण्डारीको डर भने थपिएको छ ।

राष्ट्रपति हुनुपूर्व भण्डारी र ओली एकै समूहको नेतृत्वकर्ता हुन् । भण्डारीलाई एमालेमा फर्किन त्यति सजिलो भने छैन । अध्यक्ष ओलीकै चाहनामा एक वर्षअघि एमाले विधानमा सक्रिय पदका लागि ७० बर्षे उमेर हद र ‘दुई कार्यकाल’ अध्यक्षको प्रावधान थियो । यी दुवै प्रावधानले ओलीको तेस्रोपटक अध्यक्ष हुने चाहनामा अवरोध सृजना गर्थे । तीमध्ये ७० वर्षे उमेर हद हटिसकेको छ । विधान अधिवेशनबाट दुई कार्यकाल अध्यक्षको प्रावधान समेत हटाएर ओली अध्यक्षमा तेहेरिन चाहन्छन् ।

केहीसमय अगाडी ओलीले भनेका थिए, “कसैले एमाले विनाको नेपाल भने, कसैले केपी ओलीविनाको एमाले । दया लागेर आउँछ । केपी ओली नभइदिएको भए यसो गर्छु, उसो गर्छु भन्ने लाग्या होला । २० वर्ष जति अरू कसैले आस नगरे पनि हुन्छ ।” याे अभिव्यक्ति दिएसँगै ओली र भण्डारी सल्लाहमा हो कि भिड्ने गरी हो भन्ने कुरा अझ दुविधा पैदा गरेकाे छ ।

आइतबार काठमाडौँमा पार्टी विद्यार्थी सङ्गठनको २४औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई लक्षित गर्दै पार्टीको जिम्मेवारीमा फलाना आउने अरे भन्दै फिँजाइएका भ्रममा विश्वास नगर्न आग्रह गरे । उनले गुट नै बनिसके भन्दै प्रचार गरिएको उल्लेख गर्दै गुटको कुरा गर्नेहरूको प्रतिकार गर्न निर्देशन कार्यकर्तालाई दिए । पूर्वराष्ट्रपति भण्डारीको बारेमा पार्टीमा कुनै छलफल नै नभएको बताउँदै महाधिवेशन घोषणा पनि नभएको र महाधिवेशनमा के गर्ने भन्ने सरसल्लाह नै नभएको जिकिर गरे ।

बाहिर भ्रम फिँजाएर पार्टीलाई कमजोर बनाउने र पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्ने काम भइरहेको भन्दै यस्ता दुष्प्रयासलाई सोझै इन्कार गर्न उनकाे निर्देशन छ । यो कुराले अबको एमालेभित्रको राजनीति नयाँ मोड लिने सङ्केत गरेको छ भने भण्डारी नेतृत्वमा आउने कुनै न कुनै खेल शुरु भएको सहजै बुझ्न सकिन्छ ।

एमाले अध्यक्ष ओली पूर्वनिर्धारित समयभन्दा अगाडि नै महाधिवेशन गर्ने मुडमा छन्, सोही अनुरूप एमालेले पार्टीको विधान अधिवेशनको मिति तोकिएकोबाट पनि अनुमान लगाउन सकिन्छ । २०८२ भदौ २०,२१ र २२ गते गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ललितपुरमा गर्ने निर्णय गरिसकेकाे छ । विधान महाधिवेशन गरेको छ महिनाभित्र महाधिवेशन गर्नुपर्ने एमालेकाे प्रावधान छ ।

Logo