काठमाडौं
निर्वाचित जनप्रतिनिधिलाई राजीनामा गराएर पार्टीका नेता वामदेव गौतमलाई सांसद बनाउने प्रयासप्रति नेकपाकै दोस्रो तहका नेताले असन्तुष्टि व्यक्त गरेका छन् । गौतमलाई सांसद बनाउने प्रयासबारेमा खुला रुपमा बोल्न तयार नभए पनि पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालका साथै माधवकुमार नेपाल निकटका स्थायी समिति सदस्यहरुले असन्तुष्टि व्यक्त गरेका हुन् ।
ओलीनिकट एक स्थायी समिति सदस्य भन्छन्, ‘निर्वाचित जनप्रतिनिधिलाई राजीनामा गराएर उहाँ किन सांसद बन्न मरिहत्ते गरिरहनु भएको छ, बुझ्न सकिएको छैन ।’ जनतासँग विभिन्न प्रतिबद्धता जनाएका जनप्रतिनिधिले अरु कसैको स्वार्थका लागि जनतालाई धोका दिनु पनि गलत भएको उनले बताए । ‘उहाँले जनतासँग के कस्ता प्रतिबद्धता जनाउनु भएको थियो, प्रतिबद्धता पूरा नगरी किन छोड्दै हुनुहुन्छ’, उनले भने । यस्तो प्रवृत्तिले जनताप्रति पार्टीको विश्वास गुम्ने उनको तर्क छ ।
नेकपाका नेताहरुले पार्टीभित्र छलफल नै नगरी एक्कासि यस्तो प्रस्ताव आउनु गलत भएको बताएका छन् । ओली पक्षकै अर्का नेता भन्छन्, ‘सभ्य मानिसका लागि यस्तो कुरा सुहाउँदैन । जनताले आफ्नो मत जायर गरेपछि कम्तीमा एक कार्यकाल धैर्य गर्ने साहस उहाँले गर्नुपथ्र्यो ।’ गौतमले सांसद बन्न गरिरहेको मरिहत्ते राजनीतिक नेताका लागि अशोभनीय भएको उनको तर्क छ ।
‘उहाँ कुनै स्वार्थका लागि आउन खोजेको देखिन्छ तर त्यसले उहाँको राजनीतिक करिअरलाई मात्र होइन, समग्र पार्टीलाई हेर्ने दृष्टिकोणमा समेत प्रभाव पर्छ,’ उनले भने । ओली पक्षका दुई उच्चस्तरीय नेताका यी भनाइबाट गौतमको सांसद बन्ने प्रयास अध्यक्ष ओली पक्षले नरुचाएको पुष्टि हुन्छ ।
गौतमको सांसद बन्ने प्रयासप्रति माधव नेपाल समूह पनि सकारात्मक देखिँदैन । नेपाल निकट एक स्थायी समिति सदस्य भन्छन्, ‘निर्वाचन भएको एक वर्ष पनि नपुग्दै जनतालाई निर्वाचनका नाममा दुःख दिनु हुँदैन ।’ उनी गौतमलाई संसदमा नल्याई नहुने अपरिहार्यता अहिले नभएको बताउँछन् । अहिले पार्टीको काम गरेर बस्नुपर्ने बेलामा संसदमा आउने आशक्ति देखाउनु सही नभएको उनको भनाइ छ ।
नागरिकबाट































प्रतिक्रिया