काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफू बस्ने कार्यकक्षमा जान जडान गरेका लिफ्टमा अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
युवराज सफलले मेयर बालेनविरुद्ध सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ को उल्लंघन गरेको तथा अपारदर्शी ढंगले लिफ्ट जडान गरिएको दाबीसहित उजुरी दिएका हुन्। झण्डै एक करोड रुपैयाँ मूल्य बराबरको ‘लिफ्ट’ जडान गर्दा बोलपत्र आह्वान, टेन्डर वा कोटेसनजस्ता प्रतिस्पर्धात्मक र पारदर्शी प्रक्रियाहरू पालना नगरिएको दाबी छ ।
सार्वजनिक खरिद ऐन २०६३ को दफा ११ मा बोलपत्रसम्बन्धी व्यवस्था र सार्वजनिक खरिद नियमावली, २०६४ को प्रावधानहरूले सार्वजनिक निकायहरूलाई खरिद प्रक्रियामा पारदर्शिता र प्रतिस्पर्धा सुनिश्चित गर्न निर्देशित गर्छन् । तर, उजुरीमा महानगरले यी प्रावधानहरूको पालना नगरेको र बिनाप्रतिस्पर्धा लिफ्ट जडान गरिएको दाबी गरिएको हो ।
लिफ्ट जडानसम्बन्धी सबै कागजातहरू झिकाएर महानगरमा भएको अनियमितता र भ्रष्टाचारको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न माग गरिएको छ ।





























प्रतिक्रिया