काठमाडौं । चीनको दक्षिणी सुन्दर टापु मकाउमा आयोजना भएको अन्तर्राष्ट्रिय अटोमोबाइल महासंघ (एफआईए) को चार दिने एक्स्ट्रा अर्डिनरी जनरल एसेम्बली सम्पन्न भएको छ ।
सम्मेलनमा मोटर स्पोट्र्समा भइरहेको नयाँ प्रविधि र अभ्यासहरू, विशेष गरी सिम रेसिंग तथा डिजिटल लाइसेन्सिङको प्रयोग, नयाँ तथा साना देशहरूका लागि स्कील र नलेज ट्रान्सफर्मेशन गर्ने विषयमा छलफल गरिएको थियो । एफआईएका विधानलाई पनि संशोधन गरिएको थियो ।
त्यसैगरी मोबिलिटी क्षेत्रमा देखा परेका नयाँ चुनौतीहरू र अवसरहरूबारे समेत सदस्य राष्ट्रहरूबीच अनुभव आदान–प्रदान गरिएको थियो । सम्मेलनमा विश्वभरका १४० भन्दा बढी देशका अटोमोबाइल, मोटर स्पोट्र्स, मोबिलिटी, सडक सुरक्षा तथा ड्राइभ टुरिज्मसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
नेपाल अटोमोबाइल एसोसिएशन (नासा नेपाल) का कार्यकारी निर्देशक तथा एफआईए वल्र्ड काउन्सिलका सदस्य गोविन्द भट्टराईले सम्मेलन अत्यन्त सफल र फलदायी भएको जानकारी गराए ।
उनका अनुसार, ‘‘एफआईएले आफ्नै विधान संशोधन गर्दै आगामी साधारण सभा र निर्वाचनतर्फको बाटो खुला गरेको छ । आफ्नो चार वर्षे कार्यकालको साढे तीन वर्ष पूरा भइसकेको र अब नयाँ निर्वाचन प्रक्रिया सुरु भएको छ ।’’
सम्मेलनमा यूएनडब्लुयुटीओसँग सहकार्यमा मोटरिस्ट संगठनहरूलाई पर्यटन प्रवद्र्धनमा संलग्न गराउने रणनीतिबारे पनि निर्णय भएको छ । यसअन्तर्गत विश्वव्यापी अभियान संचालन गरिनेछ र टुरिज्म अवार्डको घोषणा समेत गरिएको छ । जसमा नासा नेपाल जस्ता संस्थाहरूले सक्रिय भूमिका निर्वाह गर्नेछन् ।
नेपाल जस्ता देशहरूको लागि डिजिटल प्रविधिको समावेशीकरण, ट्याक निर्माण, ग्रासरुट मोटर स्पोट्र्सको प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय अनुभव र सीप आदान–प्रदान जस्ता विषयहरू विशेष प्राथमिकतामा पारिएको छ । सम्मेलनले विश्वभर मोटर स्पोट्र्स तथा मोबिलिटीका क्षेत्रहरूमा नयाँ दिशा दिने स्पष्ट संकेत दिएको छ ।
प्रतिनिधिहरू आगामी दशकलाई मोटर स्पोट्र्स र साहसिक खेलकुदको दशक बनाउने दृढ प्रतिज्ञासहित आ–आफ्ना देश फर्किंदै छन् । नासा नेपाल पनि उक्त अभियानमा अग्रसर रहने प्रतिबद्धतासहित स्वदेश फर्किन लागेको कार्यकारी निर्देशक भट्टराईले जनाए ।































प्रतिक्रिया