अख्तियारको अनुसन्धानमा खुला हृदयले सहयोग गर्छुः गृहमन्त्री लेखक

अख्तियारको अनुसन्धानमा खुला हृदयले सहयोग गर्छुः गृहमन्त्री लेखक

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसासँग जोडेर आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्ण ढङ्गबाट राजनीतिक रूपले आक्रमण गर्ने प्रत्यत्न भएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री लेखकले भिजिट भिसासम्बन्धी घटनामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका हुन् । उनले भने, “भिजिट भिसासम्बन्धी प्रकरणमा मेरो संलग्नता छैन, हुनै सक्दैन, ममाथि लगाइएको आरोपप्रति खेद व्यक्त गर्न चाहन्छु ।”

भिजिट भिसासम्बन्धी प्रणाली विगत लामो समयदेखि लागू हुँदै आएको जानकारी दिँदै उनले आफ्नो कार्यकालभन्दा अघिल्ला मन्त्रीका पालामा बढी व्यक्ति भिजिट भिसामा विदेश गएको तथ्याङ्क प्रस्तुत गरे ।

गृहमन्त्री लेखकले भने, “नियोजित, षड्यन्त्रपूर्ण ढङ्गले राजनीतिक चरित्रहत्या र राजनीतिक प्रतिशोध पूरा गर्नका लागि उठाइएका विषय हुन्, यस्ता निकृष्ट खाले प्रवृत्ति अन्त्य गर्नुस् म यो चाहन्छु ।”

संवैधानिक निकायले छानबिन गरिराखेको अवस्थालाई सरकारसँग जोड्ने हो भने विगतमा कति मन्त्रीहरूले राजीनामा र जवाफ दिएका थिए भनी प्रश्न गर्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने कुनै पनि कामकारबाहीलाई आफूले खुला हृदयले सहयोग गर्ने विश्वास दिलाए ।

लोकतन्त्र र विधिको शासनलाई सुदृढ तुल्याउन आफू निरन्तर लागिरहेको जनाउँदै गृहमन्त्री लेखकले आयोगको छानबिन र कारबाहीलाई कसैले पनि प्रभावित हुन दिन नहुने बताए ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई सोधपुछका लागि आयोगले बोलाएको विषय सञ्चारमाध्यमबाटै थाहा पाएको उनले स्पष्ट पारे ।

गृहमन्त्री लेखकले अध्यागमन विषयमा देखिएका समस्या समाधान गर्न नीतिगत, कानुनी र संरचना गत सुधारका एक महिनाभित्रै काम थालनी गर्ने विश्वास दिलाए । उनले भने, “संसद् सञ्चालनका सम्बन्धमा सत्तापक्ष र प्रतिपक्षबीचमा भएको सहमतिलाई स्वागत र हृदयगम गर्दै अक्षरसः पालना गर्ने प्रतिबद्धता व्यक्त गर्छु ।”

Skip This
Skip This
Logo