चर्कियो इरान–इजरायल युद्धः नेपालीहरु कत्तिकाे जोखिममा छन् ?

चर्कियो इरान–इजरायल युद्धः नेपालीहरु कत्तिकाे जोखिममा छन् ?

केन्द्रबिन्दु
81
Shares

काठमाडौं । पछिल्ला दिन इजरायल र इरानबीचकाे युद्ध चर्किएकाे छ । इजरायलले बिहीबार राति इरानको परमाणु कार्यक्रम र महत्वपूर्ण सैन्य संरचनामा हमला गरी ठूलाे क्षति पुर्‍याएपछि इरानले पनि शुक्रबार रातिदेखि जवाफी कारबाही थालेको हाे ।

इजरायली हमलामा ७८ जनाको ज्यान गएको र ३२० भन्दा बढी मानिस घाइते भएको इरानको दाबी छ । इजरायली सैन्य अधिकारीहरू र आणविक वैज्ञानिकहरू पनि मारिएका छन्। यसको बदलामा इरानले इजरायलमा मिसाइल प्रहार गर्दा कम्तीमा ४० जना घाइते भएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएअनुसार इजरायलका सडकमा भग्नावशेष छरपस्ट छ, गाडीहरू कुचिएका छन् र घरहरु आंशिक रूपमा भत्किएको देखिन्छ ।

तर, त्यसअघि बिहीबार इजरायलले इरानमाथि भयानक आक्रमण गरेको थियो । इजरायलले इरानमाथि गरेको पछिल्लो आक्रमण गत वर्ष गरिएका दुई सैन्य कारबाहीभन्दा यो बढी व्यापक र विनाशकारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको दाबी छ । इरानको परमाणु सुविधा, ब्यालिस्टिक मिसाइल कारखाना, र सैन्य कमान्डरहरूलाई लक्षित गर्दै इजरायलले गरेको यो हमलामा इरानी सेनाका प्रमुख मोहम्मद बाघेरी, इरानी रिभोलुसनी गाड्र्स करका प्रमुख हुसेइन सलामी, वरिष्ठ कमान्डर घोलम अली रसिदलगायतको ज्यान गएको बताइएको छ ।

हालैका वर्षहरूमा मध्यपूर्वमा बढ्दो तनाव, विशेषगरी इरानको परमाणु कार्यक्रम र इजरायलको क्षेत्रीय प्रभावलाई लिएर, यी दुई देशबीचको आन्तरिक द्वन्द्व युद्धको स्तरमा पुगेको हो । इजरायलले इरानको परमाणु हतियार विकासलाई आफ्नो सुरक्षामाथिको खतरा ठान्छ। साथै इरानले सिरिया, लेबनान, र यमनमा प्रोक्सीमार्फत प्रभाव विस्तार गर्दैछ, जसलाई इजरायलले रोक्न चाहन्छ। तर इरान इजरायलको अस्तित्वलाई अस्वीकार गर्दै प्यालेस्टाइनलाई समर्थन गर्छ। त्यसकारण यो द्वन्द्व चर्किएको हो ।

द्वन्द्व झन् चर्केर गएको अवस्थामा त्यसको प्रभाव समग्र मध्यपूर्व क्षेत्रमा फैलिने चिन्ता बढेको छ । साथै त्यहाँ काम गरिरहेका लाखौँ नेपाली श्रमिकहरूको सुरक्षाको व्यवस्था र रोजगारीमा नकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ।

हाल इजरायलमा झण्डै ५ हजार नेपालीहरू विभिन्न पेशा तथा व्यवसायमा संलग्न छन्। अवैध बाटोबाट गएर अनौपचारिक रूपमै काम गर्नेहरू उत्तिकै छन् । सन् २०२३ को अक्टोबरमा हमासले इजरेलमा गरेको हमलामा परेर लर्न एन्ड अर्न कार्यक्रममा गएका १० नेपाली विद्यार्थीको पनि मृत्यु भएको थियो। त्यस घटनामा बेपत्ता भएका नेपाली विद्यार्थी विपीन जोशीको अवस्था अझै अज्ञात छ। इजरायलमा खासगरी घरेलु कामदार र कृषि क्षेत्रमा नेपालीहरू जाने गर्छन्।

यता इरानमा भने अन्यत्रको तुलनामा नेपालीहरू नगन्य नै छन् । त्यहाँ करिब सयको आसपासमा मात्र नेपालीहरू रहेको सरकारी तथ्यांकमा भेटिएको छ । इरान र इजरायल द्वन्द्वमा संलग्न हुने बित्तिकै उनीहरूसँग स्थल, जल र हवाई बाटोबाट जोडिने पूरै खाडी नै प्रभावित हुन्छन्। राजनीतिक रूपमा नेपालीहरूलाई मार नपरे पनि भौतिक र मनोवैज्ञानिक रूपमा ठूलो असर पर्नसक्ने अनुमान गरिएको छ । खाडीमा लाखौं नेपालीहरु रहेका छन् । कुल नेपाली श्रमिकमध्ये ८५ प्रतिशत त्यहाँ रोजगारीको खोजीमा पुग्ने गर्छन् ।

यता नेपालले दुई देशबीचको यो हमलाको निन्दा गर्नुका साथै हमलापछि उत्पन्न क्षेत्रीय अशान्ति र अन्योलपूर्ण अवस्थाप्रति नेपालले गहिरो चिन्ता व्यक्त गरेको छ । शुक्रबार साँझ परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी मेलमिलापपूर्ण दृष्टिकोण अपनाउन दुवै पक्षलाई अनुरोध गरेको हो । कतारको दोहास्थित नेपाली राजदूतावासले इरानमा तथा तेलअभिभमा रहेको नेपाली दूतावासले इजरायलमा नेपाली समुदायसँग सम्पर्क गरेको र नेपालीसँग सम्पर्कमा रहेको पनि परराष्ट्रले जनाएको छ । हाल उनीहरू सबै सुरक्षित छन् ।

Logo