दक्षिण अफ्रिकाले पहिलोपटक जित्यो विश्व टेस्ट च्याम्पियनसिपको उपाधि, अष्ट्रेलिया स्तब्ध

दक्षिण अफ्रिकाले पहिलोपटक जित्यो विश्व टेस्ट च्याम्पियनसिपको उपाधि, अष्ट्रेलिया स्तब्ध

केन्द्रबिन्दु
93
Shares

काठमाडौं । ओपनर एडेन माक्रामको शतकसँगै दक्षिण अफ्रिकाले आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२५ को उपाधि उचालेको छ । इंग्ल्याण्डको लर्ड्समा भएको फाइनलको चौथो दिन आज साविकको विजेता अष्ट्रेलियालाई ५ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलोपटक च्याम्पियन बनेको हो ।

योसँगै दक्षिण अफ्रिकाले २७ वर्षमा उपाधिको खडेरी तोडेको छ । दक्षिण अफ्रिका सियिनर टोलीले सन् १९९८ मा च्याम्पियन्स ट्रफीको उपाधि जितेपछि कुनैपनि आइसिसी उपाधि जितेको थिएन । यसअघि २०२४ मा टी२० विश्वकपको फाइनलमा पुग्दा पनि पराजित भएको थियो ।

उपाधि जित्न २८२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले तेस्रो दिनको खेल सकिँदा २ विकेट गुमाएर २ सय १३ रनको मजबुत अवस्थामा थियो । आज कप्तान टेम्बा बभुमा ६६ रन बनाएर आउट हुँदा माक्रामले १३६ रनको सानदार शतकीय पारी खेले ।

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले पहिलो पारीमा स्टिभ स्मिथको ६६ रन र बेउ वेबस्टरको ७२ रनको मद्दतमा २१२ रन बनाएको थियो ।

बलिङमा दक्षिण अफ्रिकाका कागिसो रबाडाले ५ विकेट लिए ।

जवाफ उत्रिएको दक्षिण अफ्रिका फेरि १३८ रनमै समेटियो । दक्षिण अफ्रिकाका लागि कोहो ब्याटरले पनि अर्धशतक बनाउन सकेनन्। जसले अस्ट्रेलियालाई पहिलो पारीमा ७४ रनको अग्रता दिलाएको थियो।

बलिङमा अस्ट्रेलियाका लागि कप्तान प्याट कमिन्सले ६ विकेट लिए ।

दोस्रो पारीमा अस्ट्रेलिया २ सय ७ रनमा अलआउट भयो । मिचेल स्टार्कले अविजित ५८ रन बनाउँदै जोश हेजलवुडसँग दसौँ विकेटका लागि ५९ रनको साझेदारी गरे । शीर्ष क्रमका अन्य ब्याटर चलेनन् । यसले दक्षिण अफ्रिकालाई जितका लागि २८२ रनको लक्ष्य दिएको थियो ।

दक्षिण अफ्रिकाका रबाडाले फेरि चार विकेट लिएका थिए ।

सन् २०१९देखि सुरु भएको पहिलो संस्करणको विश्व टेस्ट च्याम्पियनसिपको उपाधि न्युजिल्यान्डले तथा दोस्रो संस्करणमा अष्ट्रेलियाले जितेको थियो । यो दुवै फाइनलमा भारत भने उपविजेतामै सीमित बनेको थियो ।

Logo