काठमाडौं
म्याराथनमा लगातार उपाधि जितिरहेकी कान्छीमाया कोजुले १२ औं काठमाडौं म्याराथनमा आफ्नै कीर्तिमान भंग गरेकी छिन् ।
शनिबार भएको महिला म्याराथनतर्फ कान्छीमायाले ४२.१९ किमीको दुरी २ घण्टा ५० मिनेट ४१ सेकेण्डमा पुरा गर्दै पहिलो भएकी हुन् । उनले सो समय निर्धारित गर्दा दुई वर्ष अधि यसै प्रतियोगितामा राखेको समयलाई करिब ५ मिनेट १७ सेकेण्डले पछि पारिन् । भक्तपुरकी धाविकाले २०७३ को काठमाडौं म्याराथनमा २ घण्टा ५५ मिनेट ५८ सेकेण्डको समयमा पुरा गरेकी थिइन् ।
दोस्रो स्थानमा भक्तपुरकी सरिता बसीले ३ घण्टा ११ मिनेट १४ सेकेण्डमा पुरा गर्दै दोस्रो स्थान हासिल गरिन् । यसैगरी तेस्रो भएकी राजपुरा पाछाईले सो दुरी पार गर्न ३ घण्टा २४ मिनेट ८ सेकेण्डको समय लिएकी थिइन् । पहिलो भएकी कान्छीमायाले ५० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १५ हजार नगद पुरस्कार प्राप्त गरे ।
यसैगरी पुरुष म्याराथनमा नेपाली सेनाका धावकले शीर्ष दुई स्थान हात पारेका छन् । होमलाल श्रेष्ठले २ घण्टा २० मिनेट ४५ सेकेण्डको समयका साथ आफुलाई पहिलो स्थानमा उभ्याए । त्यस्तै राजन खत्रीले दोस्रो स्थान हासिल गर्न २ घण्टा २३ मिनेट ३३ सेकेण्ड समय खर्चे । तेस्रो स्थानमा रहेका नेपाल प्रहरीका भुमिराज राईले २ घण्टा २४ मिनेट ३१ सेकेण्डमा दुरी पुरा गरेका थिए । शीर्ष तीनले क्रमशः ५०, २० र १५ हजार रुपियाँ पुरस्कार जिते ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया