परीक्षामा देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरु सहभागी भएका छन् । "/>

स्वास्थ्य मापदण्डसहित कक्षा १२ को परीक्षा आजबाट शुरु (फोटोफिचर)

स्वास्थ्य मापदण्डसहित कक्षा १२ को परीक्षा आजबाट शुरु (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कक्षा १२ को परीक्षा आजबाट शुरु भएको छ । कोभिड १९ संक्रमणको जोखिमका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट शुरु भएको हो ।

परीक्षामा देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरु सहभागी भएका छन् । देशभर ४ हजार १ सय ५ विद्यालयमा परीक्षा केन्द्र तोकी परीक्षा सञ्चालन गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले यसपटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिन लागेको हो । बोर्डका अनुसार थप ४० प्रतिशत अंक कक्षा ११ को नतिजाको मूल्याङ्कन गरेर र २० प्रतिशत अंक विद्यालयको आन्तरिक मूल्यांकनबाट जोडिने छ ।

परीक्षा बिहान ८ बजेदेखि साढे आठ बजेसम्म सञ्चालन भएको छ । यसपटक विद्यार्थीहरुले आफैंले पढेको विद्यालयमा परीक्षा दिन पाएका छन् । यस्तै गाउँघरमा गएका विद्यार्थीहरुले भने आफूलाई पायक पर्ने स्थानमै रहेको परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था पनि गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका उपाध्यक्ष समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सबै परीक्षा केन्द्रमा जनस्वास्थ्य मापदण्ड पालना गरी परीक्षा सञ्चालन भएको बताए। यस्तै परीक्षा केन्द्रहरुमा परीक्षा बोर्डले जारी गरेको परीक्षा मापदण्ड समेत पालना भएको पाइएको सचिव मैनालीले बताए।

परीक्षा केन्द्रहरुमा हेल्थ डेस्क राख्ने, सामाजिक दूरी कायम गर्ने, ज्वरो नाप्ने, साबुनपानीले हात धुन लगाउने, मास्क तथा फेससिल लगाउने, सेनिटाइजरको प्रयोग गर्ने लगायतको व्यवस्था मिलाइएको छ । काठमाडौं उपत्यकाका विभिन्न परीक्षा केन्द्रहरुमा पुग्दा जनस्वास्थ्य मापदण्डका सम्पूर्ण मापदण्डहरु पुरा गरेको पाइएको छ । परीक्षामा विद्यार्थीले लेखिसकेपछि भिडभाड नगरीकन कापीलाई तोकिएको ठाउँमा राखेर बाहिर निस्कने व्यवस्था मिलाइएको पनि केन्द्राध्यक्षहरुले बताएका छन् ।

एउटा परीक्षा कोठामा बढीमा २० जनासम्म विद्यार्थी राख्न पाउने व्यवस्था गरिएको छ । यस्तै परीक्षार्थीहरु, केन्द्राध्यक्ष र निरीक्षकहरुले अनिवार्य मास्कको प्रयोग गरेका छन् । परीक्षामा कोही विद्यार्थी विरामी परेमा छुट्टै कोठामा राखेर परीक्षा दिन पाउने व्यवस्था पनि विद्यालयहरुले गरेका छन् । परीक्षा सञ्चालनमा स्थानीय तहहरुले सहयोग गरिरहेका छन् । कक्षा १२ को परीक्षा मंसिर १६ गते सकिनेछ ।

Logo