रवि लामिछानेको आक्रोश- ‘यो विधिको शासन हो कि जंगलराज ?’

रवि लामिछानेको आक्रोश- ‘यो विधिको शासन हो कि जंगलराज ?’

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि लागेका आरोप र न्यायीक प्रक्रियामाथि गम्भीर प्रश्न उठाउँदै जेलबाटै आक्रोश व्यक्त गरेका छन्।

उनले आफूलाई फसाउन ‘झूटा मुद्दा’ खडा गरिएको र त्यसका लागि राज्यका अंगहरू नै दुरुपयोग भएको उनकाे आरोप छ ।

“बचत फिर्ताको मागमा दिइएको निवेदनलाई प्रहरीले नै दुरुपयोग गरी रवि लामिछाने तर्फ सोझ्याएको भनेर निवेदकले नै भनेको तथ्यमा न्यायालयले पनि आँखा चिम्लिनुलाई म सामान्य मानौं कि असामान्य?” सभापति लामिछानेले प्रश्न गरेका छन्, “मेरै निवेदनलाई देखाएर रवि लामिछानेलाई थुनेको भए म त्यो पापको भागिदार बन्दिन भनेर निवेदनकर्ताले सार्वजनिक रूपमा भन्दा पनि त्यसको सुनुवाइ हुन्न भने यो विधिको शासन हो कि जंगलराज ?”

उनले राज्यका सबै अंगहरू ‘गैरकानूनी सिन्डिकेटले चलाएको’ र ‘तिनैका भर्तीकेन्द्र’ भएको भन्दै एउटा व्यक्तिको मौलिक अधिकारको महत्त्वमाथि पनि प्रश्न उठाएका छन्। “न्यायका लागि ढकढक्याउन कुनै ढोका छ कि छैन भन्ने आशंका कसरी हट्छ र?” उनको आक्रोश छ ।

ग्यालेक्सी टेलिभिजनमा जी.बी. राईको लगानीको स्रोतबारे स्पष्टीकरण दिँदै लामिछानेले अडिट रिपोर्टमा हेटौंडाको जग्गा बिक्रीबाट पैसा आएको उल्लेख भएको बताएका छन्। उनले व्यावसायिक साझेदारको सम्पत्तिको स्रोत खोज्ने कानुनी प्रावधान वा अधिकार आफूलाई नभएकोमा जोड दिएका छन्। उनले कोरोनाको समयमा जी.बी. राई नेपालमा नभएका बेला कर्मचारीको तलब र आर्थिक कारोबार नरोक्नका लागि चेकमा सही गरेको बताए । लामिछानेका अनुसार, कम्पनीमा उनले कुनै आर्थिक दायित्व नलिने लिखित सम्झौता थियो र मुख्य लगानीकर्ताले भनिसकेपछि चेकमा सही नगर्ने नैतिक आधार थिएन।

“तीन वर्षपछि एक ट्रक कागजहरु खोतलेर हेर्दा जी.बी.को निजी खाताबाट सम्झौता बमोजिमकै पैसा मेरो निजी खातामा आउँदा जी.बी.ले आफ्नो खातामा सहकारीबाट पैसा ल्याएको रहेछ भन्ने पत्ता लाग्यो,” लामिछानेले भनेका छन्। उनले जी.बी. राईको व्यक्तिगत खातामा पैसा कहाँबाट आएको थियो भनेर आफ्नो ‘मानवीय क्षमता’ले पत्ता लगाउन नसक्ने बताएका छन्।

उनले आफूमाथि ‘अर्बौं ठगेको’ आरोप लगाउने र ‘सादा कागज’ देखाउँदै संसदमा गर्जनेहरूले अहिलेसम्म कुनै ठोस प्रमाण पेस गर्न नसकेको चुनौती दिएका छन्। “कुनै एउटै सहकारीमा रै’छ त रवि लामिछानेको ऋण पाऊँ भन्ने एउटै निवेदन? कुनै सहकारीमा भेटियो त रवि लामिछानेको एउटै हस्ताक्षर? कुनै सरकारीमा रै’छ त रवि लामिछाने पदाधिकारी, सदस्य, कर्मचारी?” उनले प्रश्न गरेका छन्।

Logo