गण्डकी । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु आठ अर्ब ३५ करोडको बजेट ल्याएको छ ।
महानगरपालिकाको १७औँ नगरसभाको बैठकमा आइतबार महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।
बजेटमा सङ्घीय सर्शत अनुदान रु तीन अर्ब १३ करोड, सङ्घीय राजस्व बाँडफाट रु ३३ करोड आठ लाख, सङ्घीय समानीकरण अनुदान रु ५२ करोड ८७ लाख, प्रदेश समानीकरण अनुदान रु आठ करोड १५ लाख प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै आगामी वर्ष आन्तरिक आय रु पाँच अर्ब २२ करोड, स्थानीय राजस्व बाँडफाट रु एक अर्ब एक करोड, प्रदेश राजस्व बाँडफाट रु चार करोड २८ लाख हुने उपप्रमुख गुरुङले जानकारी दिइन् ।
बजेटका प्राथमिकतामा हरित, उत्थानशील र दियो पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन उल्लेख छ । वातावरण संरक्षण, सम्बर्द्धन तथा फोहोरमैला व्यवस्थापन, समावेशी, सन्तुलित र समतामूलक विकास, संस्थागत विकास, सुशासन प्रवर्द्धन तथा गुणस्तरीय सेवा प्रवाह बजेटका प्राथमिकतामा छन् ।
त्यस्तै स्वरोजगार, उद्यमशीलता तथा व्यावसायिक कृषि प्रणालीको प्रवर्द्धन, गुणस्तरीय, जवाफदेही र प्रतिष्पर्धी मानवस्रोत विकास बजेटको प्राथमिकतामा रहेको उनले बताइन् ।
महागनरको नीति तथा कार्यक्रममा भने पोखराको विकास र युवा उद्यमशीलता प्रवर्द्धन र सहजीकरणका लागि पोखरा आइडिया बैँक स्थापना गर्ने उल्लेख गरिएको छ । महानगरले तेस्रो त्रैमासिकभन्दा पछि योजनाहरूको सम्झौता नगर्ने नीति लिने उल्लेख गरेको छ ।
योजना छनोटलाई प्रभावकारी बनाउन आयोजना बैँक सञ्चालन गर्ने, अनौपचारिक क्षेत्रमा क्रियाशील मजदूरको हितका लागि सामाजिक सुरक्षा कोषमा जोड्ने कार्यक्रमअघि सारिने नीति तथा कार्यक्रममा उल्लेख छ ।































प्रतिक्रिया