काठमाडाैं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एभरेस्ट फाइबर सिमेन्ट बोर्डलाई ‘नयाँ नेपाल निर्माणको एउटा अभियान’ को संज्ञा दिँदै निजी क्षेत्रसँगको सहकार्यमा निर्यात वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
रौतहटको फतुवा विजयपुरमा आइएमई ग्रुपकाे करिब डेढ अर्ब रुपैयाँको लगानीमा देशमै पहिलोपटक खुलेकाे फाइबर सिमेन्ट बोर्डकाे उद्घाटन गर्दै मन्त्री भण्डारीले यस्ताे बताएका हुन् ।
उनले हालैको निराशाजनक अवस्थाका बाबजुत पनि आशाको दियो बलेको बताएका छन्। उनले भने, “व्याप्त निराशालाई केही न केही गरेर सम्भावना खोजिरहेका छौं। त्यसको लागि यो ग्रुपले पाइला अघि बढाएको छ।”
मन्त्री भण्डारीले उद्योग मजबूत नभएसम्म कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उद्योगको योगदान नहुने स्पष्ट पारे। उद्योग स्थापना र सञ्चालनका चुनौतीबारे प्रकाश पार्दै उनले भने, “अहिले उद्योगलाई सजिलो छैन। विश्व बजारसँग हामीले प्रतिस्पर्धा गर्नुपर्नेछ। यसको बाबजुद पनि संघर्ष गर्नुपर्ने छ। उद्योग खोल्न सजिलो छैन। खोलेर मात्र हुँदैन चलाउन गाह्रो छ। अनेक जोखिम छ, त्यो सबैको सामना गरेर मात्र नाफा कमाउन सकिन्छ।”
मन्त्री भण्डारीले व्यवसायीहरूले नीतिगत सहुलियत चाहेको र सरकारले ३१ वटा उद्योगका विषय समेटेर नीतिमा सहुलियत दिएको जानकारी दिए। उनले भने, “हामीले धेरै उद्योग बनाउनुपर्ने छ। अहिलेको बजेट पर्याप्त छैन, तर दायराभित्र रहेर ल्याएका छौं। त्यो पर्याप्त होइन।”
उनले बजेट निजी र वित्तीय क्षेत्रसँग रहेको र नीतिगत समस्याहरूलाई सहुलियत दिएर सम्बोधन गरिएको बताए। यी उपायहरूले नेपाली बजारलाई चलायमान बनाउन मद्दत पुग्ने उनको विश्वास छ।
नेपालको अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय समितिमा छलफल भएको जानकारी दिँदै मन्त्री भण्डारीले चुनौतीहरू पन्छाएर नेपाली पुँजी बजारलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।





























प्रतिक्रिया