काठमाडौं । नेपालको औद्योगिक क्षेत्रमा नयाँ आयाम थप्दै आईएमई ग्रुपले रौतहटको फतुवा विजयपुर नगरपालिका–६ मा डेढ अर्ब रुपैयाँको लगानीमा एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा ल्याएको छ ।
काठमाडौंमा आयोजित एक विशेष समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगको औपचारिक उद्घाटन गरेका हुन् । यो उद्योग नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग हो, जसले स्वदेशी निर्माण क्षेत्रलाई आत्मनिर्भर बनाउने र आयात प्रतिस्थापन गर्ने लक्ष्य राखेको छ ।
यो उद्योगले नेपालको निर्माण क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने अपेक्षा गरिएको छ, जसले दिगो, वातावरणमैत्री र लागत–प्रभावी निर्माण सामग्रीको उत्पादनमा जोड दिएको छ ।
फाइबर सिमेन्ट बोर्ड उद्योगले अत्याधुनिक प्रविधिको प्रयोग गरी पूर्ण रूपमा स्वचालित (अटोमेटेड) प्रक्रियामार्फत फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्छ । कच्चा पदार्थको मिसावटदेखि बोर्ड कटिङ र ड्राइङसम्मका सम्पूर्ण प्रक्रियाहरु पूर्ण अटोमेटेड प्रविधिमा आधारित यो उद्योगले दैनिक ७५ हजार स्क्वायर फिट सिमेण्ट फाइवर बोर्ड उत्पादन गर्ने क्षमता राख्छ । उद्योगले ४ फिट लम्बाइ, ८ फिट चौडाइ र ४ एमएमदेखि ३० एमएमसम्म मोटाइका बोर्ड उत्पादन गर्नेछ । यहाँ उत्पादन भएका बोर्डहरु लचकदार, अग्नि प्रतिरोधक र घाम–पानीले कुनै असर नगर्ने गुणस्तरको रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार उत्पादनको गुणस्तरमा कुनै सम्झौता गरिएको छैन । फाइबर सिमेन्ट बोर्ड विशेष गरी भवनको बाहिरी वाल, पार्टेशन, फल्स सिलिङ, मोडुलर किचेन, इको प्यानल बनाउन प्रयोग गरिन्छ । बोर्डको प्रयोग गरी इँटा र प्लास्टर बिनै घर निर्माण गर्न समेत सकिन्छ।यी बोर्डहरूको प्रयोगले निर्माण प्रक्रियालाई छिटो, सस्तो, र पर्यावरणमैत्री बनाउँछ । प्लास्टर वा रङको आवश्यकता कम हुने भएकाले लागत र समय दुवैमा बचत हुन्छ । साथै, यी बोर्डहरूको अग्नि–प्रतिरोधी र टिकाउ गुणले दीर्घकालीन सुरक्षा प्रदान गर्नेछ ।
यो उद्योगले नेपालको अर्थतन्त्र र समाजमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । हाल नेपालमा फाइबर सिमेन्ट बोर्डको ठूलो हिस्सा भारतलगायतका देशहरूबाट आयात हुन्छ तर, यो उद्योगले स्वदेशमै गुणस्तरीय बोर्ड उत्पादन गरी आयातलाई विस्थापित गर्नेछ ।
उद्घाटन समारोहमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले यो उद्योगलाई नेपालको औद्योगिक विकासको महत्वपूर्ण कोसेढुङ्गा मानेका छन् । उनले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न जोड दिने र विदेशी वस्तुको आयातमा कडाइ गर्ने नीति अवलम्बन गर्ने पनि बताए ।
आईएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो उद्योगले स्वदेशी सीप र स्रोतको उपयोग गरी अन्तर्राष्ट्रियस्तरको निर्माण सामग्री उत्पादन गर्न सम्भव भएको बताए । यस्तै उनले उद्योगले नेपाली बजारको माग पूरा गर्नुका साथै अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने लक्ष्य राखेका छन् ।

यसैगरी सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले यो उद्योगले भारतबाट आयात हुने बोर्डलाई पूर्ण रूपमा विस्थापित गर्ने विश्वास व्यक्त गरेका छन् ।
उद्योगले हाल करिब २०० जनालाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी प्रदान गर्नुका साथैं रोजगारीमा ९८ प्रतिशतभन्दा बढी स्थानीय जनशक्ति र ४० प्रतिशतभन्दा बढी महिला कामदार समावेश गरेको छ ।

आईएमई ग्रुपको एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग नेपालको औद्योगिक इतिहासमा एक महत्वपूर्ण उपलब्धि हो । यो उद्योगले स्वदेशी कच्चा पदार्थ, स्थानीय सीप, र अत्याधुनिक प्रविधिको संयोजन गरी निर्माण क्षेत्रमा क्रान्ति ल्याउने सम्भावना बोकेको छ । आयात प्रतिस्थापन, रोजगारी सिर्जना, र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा यो उद्योगले महत्वपूर्ण भूमिका खेल्नेछ । साथै, वातावरणमैत्री र दिगो निर्माण सामग्रीको उत्पादनमार्फत नेपाललाई विश्व बजारमा चिनाउने अवसर यो उद्योगले प्रदान गरेको छ।





























प्रतिक्रिया