काठमाडौं । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिग क्लब अल–नासरसँग दुई वर्षे नयाँ सम्झौता गरेका छन् । उनले यो सम्झौतामार्फत अल–नासरबाट वार्षिक १७८ मिलियन पाउण्ड अर्थात ३० अर्ब २६ करोड नेपाली रुपैयाँ भन्दा बढी आम्दानी गर्ने निश्चित भएको छ ।
नयाँ सम्झौता केवल तलबमा मात्र सीमित नभएर विभिन्न प्रकारका बोनस र सुविधाहरू पनि समावेश गरिएका छन् जसले उनको कमाइलाई थप आकर्षक बनाएको छ । अब नयाँ सम्झौताअनुसार रोनाल्डोले साइनिङ बोनस स्वरुप पहिलो वर्ष २४ दशमलब ५ मिलियन पाउण्ड र दोस्रो वर्ष ३८ मिलियन पाउण्ड पाउने छन् । यसैगरी यदि अल–नासरले साउदी प्रो लिग जितेमा रोनाल्डोले ८ मिलियन पाउण्ड, एशियन च्याम्पियन्स लिग जितेमा ५ मिलियन पाउण्ड, साउदी प्रो लिगमा सर्वाधिक गोलकर्ता बनेर गोल्डेन बुट जितेमा ४ मिलियन पाउण्ड पाउने छन् । यसका साथैं नयाँ सम्झौता अनुसार रोनाल्डोले अल–नासरको १५ प्रतिशत स्वामित्वको मालिक पनि बनेका छन् । जसको मूल्यांकन लगभग ३३ मिलियन पाउण्ड आंकलन गरिएको छ ।
त्यति मात्रै नभएर रोनाल्डोले प्रत्येक गोलमा ८० हजार दोस्रो वर्षमा १ लाख, प्रत्येक एसिस्टमा ४० हजार पाउण्ड दोस्रो वर्षमा ६० हजार हुने गरी नयाँ सम्झौता गरेका छन् । अल नासरले रोनाल्डोको निजी जेट खर्चको लागि ४ मिलियन पाउण्ड पनि व्यहोर्ने भएको छ ।
यी सर्तहरूले रोनाल्डोको कमाइलाई फुटबल इतिहासकै सबैभन्दा ठूलो सम्झौतामध्ये एक बनाएको हो ।
सन् २०२३ मा साउदी क्लब अल–नासरमा आबद्ध भएका रोनाल्डोले १११ खेलमा ९९ गोल गर्नुका साथैं पछिल्ला दुई सिजनमा साउदी प्रो लिगको लगातार गोल्डेन बुट पनि जितेका छन् । तर, यति प्रभावशाली प्रदर्शनका बावजुद अल–नासरले घरेलु लिग उपाधि जित्न सकेको छैन ।





























प्रतिक्रिया