काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको राजनीतिमा पुनः सक्रिय भएको औपचारिक घोषणा गरेकी छन् ।
जननेता मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको ‘जबजका तीन दशक’ राष्ट्रिय गोष्ठीमा बोल्दै उनले यस्तो घोषणा गरेकी हुन् ।
‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु । अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन ।’ उनले भनेकी छन्, ‘जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादको मार्गदर्शनमा सामाजिक-आर्थिक रूपान्तरण गर्ने दायित्व बाँकी नै रहेको छ । यस्तो महत्वपूर्ण दायित्व पूरा गर्नका लागि नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको रूपमा विकसित नेकपा (एमाले) सक्षम हुनेछ ।’
उनले त्यसअघि भनेकी छन्, ‘जननेता मदन भण्डारीको अवसानबाट पार्टी र मसमेत सिङ्गो राष्ट्र शोकमा डुबेको अवस्थामा मलाई पार्टीले काठमाडौंको संसदीय उप- निर्वाचनमा प्रतिपस्पर्धी बनायो ।यस राजनीतिक घटनाले मेरो पहिलो जन्म आमा-बुबाले दिनुभएको र दोस्रो जन्म विद्या भण्डारीको रूपमा काठमाडौँका जनताले दिए भन्ने अनुभूति त्यसबेलै मैले गरेको थिएँ । जनताको माया र विश्वास तथा पार्टीको भरोसाले गर्दा मैले निर्वाचन समेत जितें ।जनताको छोरीको रूपमा मैले सोहि बेलादेखि नै आफ्नो सम्पूर्ण जीवन राष्ट्रलाई दिनेछु भन्ने संकल्प गरिसकेको थिएँ । देशभक्त, राष्ट्रवादी र प्रगतिशील पार्टी भएकाले नै म विद्यालयतहको विद्यार्थी हुँदादेखि नै पहिलेको माले र अहिलेको नेकपा (एमाले) मा आबद्ध भएर सामाजिक–आर्थिक रूपान्तरण अभियानमा आबद्ध भएकै हुँ ।’





























प्रतिक्रिया