उपाधिका लागि आज नेपालले सिंगापुरको सामना गर्दै

उपाधिका लागि आज नेपालले सिंगापुरको सामना गर्दै

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । साविक विजेता नेपालले एसिसी मेन्स यु-१६ इस्ट जोन कपको उपाधिका लागि आज सिंगापुरको सामना गर्दैछ ।

मलेसियामा जारी प्रतियोगिताको फाइनल नेपाली समय अनुसार बिहान ७ः४५ बजे सुरु हुनेछ ।

साविक विजेता नेपालले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिँदै दोस्रोपटक उक्त उपाधि जित्ने लक्ष्य राखेको छ, भने सिंगापुर समूह चरणको नमिठो हारको बदला लिँदै पहिलो पटक उपाधि चुम्ने दाउमा छ ।

आफूलाई अजेय सावित गर्दै फाइनलमा स्थान बनाएको नेपाली यू–१६ टोलीले प्रतियोगितामा खेलेका चारवटै खेलमा शानदार जित हासिल गर्दै आठ अंकसहित शीर्ष स्थानमा रहेको थियो । समूह चरणको पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको नेपालले दोस्रो खेलमा जापानलाई ९ विकेटले, तेस्रो खेलमा इन्डोनेसियामाथि कीर्तिमानी ३७० रनको जित हासिल गरेको थियो ।

यस्तै समूह चरणको अन्तिम खेलमा भुटानलाई २९८ रनले पराजित गरेको नेपालले सेमिफाइनलमा आयोजक मलेसियालाई ९ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।

जारी प्रतियोगितामा नेपालको ब्याटिङ र बलिङ दुवैमा सामूहिक प्रदर्शन निकै लोभलाग्दो रहेको छ । रौनक श्रीवास्तवले २९६ रन बनाउँदै सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा शीर्ष स्थान कब्जा गरेका छन् भने प्रसिद्ध जैसीले पनि २२९ रन बनाउँदै चौथो स्थानमा रहेका छन् । बलिङतर्फ कप्तान विपिनप्रसाद शर्माले १६ विकेटसहित प्रतियोगितामा शीर्ष स्थान कायम गरेका छन् । त्यसैगरी शुभम खनालको १० विकेट, र अभय यादवको ७ विकेटले नेपालको धारिलो बलिङ आक्रमणलाई प्रमाणित गरेको छ ।

अर्कोतर्फ सिंगापुरले समूह चरणमा नेपालसँग हार बेहोरे पनि बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएको छ । समूह ‘ए’ मा दोस्रो स्थान हासिल गरेको सिंगापुरले सेमिफाइनलमा हङकङलाई ४ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको हो । प्रतियोगिताभर सिंगापुरका ब्याट्सम्यान र बलरहरूले सन्तुलित प्रदर्शन गरेका छन् ।

Logo