वीरगञ्ज (पर्सा) । मुस्लिम समुदायले पर्सा जिल्लामा पनि मोहर्रम पर्व मनाइरहेका छन् । यस अवसरमा आज वीरगञ्ज महानगरका विभिन्न ठाउँबाट घण्टाघरचोकमा आएर मुस्लिम समुदायका युवाले लाठ्ठीका विभिन्न कला प्रदर्शन गरेका छन् ।
नेपाल मुस्लिम समाज सङ्घका उपसचिव अलिअस्गर अन्सारीले वीरगञ्जसहित पर्सा जिल्लामा विभिन्न प्रकारका कला प्रस्तुत गरेर मोहर्रम पर्व मनाइरहेको बताए। “मुस्लिम समुदायले विगतमा मोहर्रम अर्थात् दाहा पर्व हातहतियारका विभिन्न कौशल प्रस्तुत गरेर मनाइने गरिन्थ्यो । प्रशासनको अनुरोधमा हामीले हातहतियारको सट्टामा लाठ्ठीका विभिन्न कला देखाएर पर्व मनाइरहेका छौँ । यो क्रम आज बेलुकासम्म चल्नेछ ।”
वीरगञ्जको चोकचोकबाट मुस्लिम समुदायले नेपालको राष्ट्रिय झण्डा तथा आफ्नो कला, संस्कृति झल्किने झण्डासहित उपस्थित भएका छन् । यस्तै, मुस्लिम युवाले घण्टाघर चोकमा घोडा सवार गरेर पनि थप मनोरञ्जन गराएका थिए ।
इस्लामिक नयाँ वर्ष हिजरी संवत् सुरु भएपछि यो पर्व एकदेखि १० तारिखसम्म मनाइने गरिन्छ । मुस्लिम समुदायले घरमा पूजापाठ गरी राखिएको तहाजियालाई मुहर्रमका दिन करबलामा लगेर सेलाइने चलन छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले पर्वलाई मर्यादित र शान्तिपूर्ण रूपमा मनाउनका लागि अनुरोध गरे। यहाँ बिहानैदेखि मुख्यमुख्य चोकमा सुरक्षा व्यवस्था कडा बनाएको छ।





























प्रतिक्रिया