शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अतिक्रमित क्षेत्रमा सेनाको पोष्ट स्थापना

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अतिक्रमित क्षेत्रमा सेनाको पोष्ट स्थापना

केन्द्रबिन्दु
36
Shares

दोधारा चाँदनी (कञ्चनपुर) । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अतिक्रमित क्षेत्रमा नेपाली सेनाले सुरक्षा पोष्ट सुरक्षा स्थापना गरेको छ ।

भारततर्फका स्थानीयले अतिक्रमण गरेर खेती गरिरहेको निकुञ्जको क्षेत्रमा राष्ट्रिय निकुञ्ज कार्यालय र सेनाको संयुक्त सुरक्षा पोष्ट स्थापना गरेको निकुञ्जका सुचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए। उनका अनुसार नेपाल–भारत सीमास्तम्भ २७ र २८ को बीचमा गत जेठको पहिलो साता पोष्ट स्थापना गरिएको हो।

“अतिक्रमित क्षेत्रमा नयाँ सुरक्षा पोष्ट स्थापना गरेर निकुञ्ज कार्यालय र सेनाको टोली त्यहाँ बस्न सुरु गरेको छ”, उनले भने, “उक्त पोष्टबाट हाल सुरक्षा गस्ती भइरहेको छ ।” उनले उक्त क्षेत्रमा डुबान हुने भएकाले बर्सातको समयमा समस्या हुनसक्ने बताए। सीमास्तम्भ २७ र २८ को बीचको सहायक सीमास्तम्भ हराएका कारण सेनाले पोष्ट स्थापना गरेर गस्ती सुरु गरेको हो ।

उक्त क्षेत्रमा करिब नौ सय बिघा जमिन अतिक्रमण भएको निकुञ्जको अनुमान छ। बर्खामा निकुञ्जमा डुबानसँगै बाटो र पुलको समस्याले सबै ठाउँमा गस्ती गर्न कठिन हुने उनले बताए।

हाल निकुञ्जको सुरक्षामा नेपाली सेना र राष्ट्रिय निकुञ्ज कार्यालयका पन्ध्र वटा संयुक्त सुरक्षा पोष्ट छन् भने सेनाका छुट्टै तीन वटा पोष्टबाट निकुञ्ज क्षेत्रमा सुरक्षामा सेना खटिएको छ ।

Logo