भारतमाथि इङ्ग्ल्याण्डको २२ रनको रोमाञ्चक जित

भारतमाथि इङ्ग्ल्याण्डको २२ रनको रोमाञ्चक जित

केन्द्रबिन्दु
18
Shares

लर्ड्स । इङ्ग्ल्याण्डले तेस्रो टेस्टको अन्तिम दिन भारतलाई २२ रनले पराजित गरेको छ। लर्ड्समा भएको टेस्टमा बेन स्टोक्सले आफ्नो कप्तानी पारीमा उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिएपछि भारत १७० रनमा अलआउट भएकाे हाे ।

१९३ रनको लक्ष्य पछ्याएको भारतको ११२-८ को स्थितिमा रविन्द्र जडेजा र १० नम्बरका जसप्रित बुमराहले उत्कृष्ट साझेदारी गर्दै इङ्ग्ल्याण्डलाई दबावमा राखेका थिए । उनीहरूले करिब २२ ओभरसम्म ब्याटिङ गर्दै ३५ रनको महत्वपूर्ण साझेदारी गरे। बुमराहले ५४ बलमा ५ रन बनाएर स्टोक्सको बलमा आउट भए।

बुमराह आउट भएपछि पनि जडेजाले मोहम्मद सिराजसँग मिलेर साझेदारी गरे । स्टोक्स निरन्तर बलिङ गरिरहे। चिया समयसम्म भारतलाई जितका लागि ३० रन आवश्यक थियो। त्यसपछि शोएब बशीरलाई बलिङमा ल्याइयो, र उनले अविश्वसनीय रूपमा सिराजलाई आफ्नो स्टम्पमा बल डिफेन्ड गर्न बाध्य पारे। जडेजा १८१ बलमा ६१ रन बनाएर नटआउट रहे।

इङ्ग्ल्याण्डका लागि जोफ्रा आर्चर र कप्तान बेन स्टोक्सले समान ३ विकेट लिए भने बाइडेन कार्सले २ तथा क्रिस वोक्स र शोयब बसिरले समान १ विकेट लिए ।

पहिलो इनिङ बराबरीमा सकिएपछि इङ्ग्ल्याडले दोस्रो इनिङमा १ सय ९२ रन मात्र जोड्न सकेको थियो । दोस्रो इनिङमा जो रुट सर्वाधिक ४० रन बनाए । कप्तान बेन स्टोक्स ३३, ह्यारी ब्रुक २३ तथा ज्याक क्रली २२ रनमा आउट भए ।

इङ्ग्ल्याण्डलाई कम रनमा नै रोक्न भारतका वासिंटन सुन्दरले ४, मोहम्मद सिराज र जसप्रित बुमराहले समान २ तथा आकाश दिप र नितिशकुमार रेड्डीले समान १ विकेट लिए ।

तेस्रो टेस्टको पहिलो इनिङमा दुबै टोलीले समान ३ सय ८७ रनमा अल आउट भएको हो । याेसँगै सिरिजमा इङ्ग्ल्याण्डले अग्रता लिएकाे छ । पहिलो टेस्टमा इङ्ग्ल्याण्ड र दोस्रोमा भारत विजयी भएको थियो।

Logo