काठमाडौं । नागढुंगा-मुग्लिन सडकको पूर्वी खण्डमा ४४ प्रतिशत काम सम्पन्न भएको छ ।
दुईवटा प्याकेजमा काम भइरहेको यस खण्डमा नागढुंगादेखि नौबिसे सड्क खण्ड अन्तर्गत १२.२ किलोमिटर र नौबिसे देखि मलेखु खण्ड अन्तर्गत ४३.५ किलोमिटर सहित कुल ५५ किलोमिटर सडक रहेको छ । जसमध्ये हालसम्म करिब आधा अर्थात् २७ किलोमिटर सडकमा कालोपत्रे सम्पन्न भइसकेको नागढुंगा–मुग्लिन सडक आयोजनाको पूर्वी खण्डका योजना प्रमुख केशबप्रसाद ओझाले बताए ।
उनका अनुसार यस खण्डमा पर्ने १५ वटा पुलहरुमध्ये ८ वटा पुलहरुमा गाडी नै चल्न सुरु भइसकेका छन् भने यहि मसान्तसम्म बाँकी दुईवटा पुलहरुमा पनि गाडी चल्न सक्ने बनाइने छ ।
बाँकी पाँचवटा पुलहरु आगामी आव सम्म सम्पन्न गर्ने र सडक तर्फपनि आगामी आव सम्म पहिलो चरणमा सबै योजना ५५ किलोमिटर नै सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए । यो सबै गरेर यस आयोजनामा हाल सम्म करिब ४४ प्रतिशत काम सम्पन्न भएको उनले बताए ।
‘पहिलो प्याकेजको मात्रै कुरा गर्दा ८४ प्रतशित काम सम्पन्न भएको छ । दोस्रो प्याकेजको चाहिँ करिब ४३/४४ प्रतिशत भौतिक काम सकिएको छ । यस आयोजना अन्तर्गत मुुख्यतया डेडिकेटेड डबल लेनको सडक निर्माण हुनेछ । यसका कतिपय खण्डहरुमा छुट्टै क्लाइमिङ लेन भनेर तीन लेनको सडक हुनेछ, जसमा उकालोतर्फ जाने सवारीहरु दुई लेनमा र ओरालोतर्फ झर्ने सवारीहरु एक लेनमा सञ्चालन हुनेछन्,’ उनले भने ।
बजार क्षेत्रमा भने चारदेखि ६ लेनसम्म पनि सड्क विस्तार हुने बताइएको छ । गल्छी बैरेनी क्षेत्रमा भने पानी परेपछि एकदमै खाल्डो हुने हिलो हुने भएकाले गत वर्षको हिउँद देखि युद्धस्तरले काम गरेर धुलो र हिलो मुक्त भएको उनले बताए । यद्यपी, अझैं यसका केहि कामहरु बाँकी रहेपनि दोहोरो गाडी हिँड्न सक्ने दुई किलोमिटर केक्रिट पेमेन्ट बाट नै निर्माण सम्पन्न गरिसकेका छौं र अबको बर्खामा चाहिँ यात्रुहरुले हिलो खेप्नुपर्ने छैनभने हिउँदमा पनि धुलो खेप्नु नपर्ने उनको भनाई छ ।
‘गत वर्षको मनसुनमा यस सड्क खण्डमा भएको सवारी दुर्घटनाले निकै ठुलो क्षती पु-याएको थियो । झ्याप्ले खोलामा भएको दुर्घटनामा ३५ जनाको ज्यान पनि गएको थियो । उक्त खण्डमा समेत पहिरो रोकथाम गर्नका लागि माइक्रो पायललिङ, होरिजेन्टल सोयल एन्करेज गर्ने जस्ता नयाँ प्रविधिहरु ल्याएर कामहरु अघि बढाएका छौं । अबको दुई साता जतिमा उक्त क्षेत्रमा हामीले पुनर्निमाणको काम सम्पन्न गर्नेछौं । यसबाहेक महेश खोलाको कटान र परेवा भिर लगायत स्थानमा पनि पहिरो रोकथामका लागि तिब्र गतिमा काम भइरहेको छ ।’





























प्रतिक्रिया