भक्तपुर सम्बन्धी दुई वटा ऐतिहासिक कृति सार्वजनिक भएको छ । साहित्यकार तथा लेखक जितेन्द्र रसिकको आठौं कृति अलकापुरी भक्तपुर र संस्कृतिविद् ओम धौभडेलको भक्तपुर दरवारका मल्लकालिन भारदारहरु नामक दुई कृति बुधवार भक्तपुरमा सार्वजनिक गरिएको हो ।
कृति लोकार्पण समारोहका प्रमुख अतिथि पुरातत्व विभागका महानिर्देशक भेष नारायण दाहालले विभागले पुरा गर्न नसकेको काम लेखक रसिक र धौभडेलले गरेको बताए उनले पुरातत्व विभागको नजर पुग्न नसकेको सम्पदा र संस्कृतिको क्षेत्रमा समेत अलकापुरी भक्तपुर कृतिमा समेटिएकोले आगामी दिनमा ति क्षेत्रमा पनि विभागको ध्यान जाने बताए ।
रसिकले भक्तपुर आउन चाहने आन्तरिक तथा बाह्य पर्यटकको लागि निकै उपयोगी र जानकारीमुलक पुस्तक नेपालको संस्कृति क्षेत्रलाई प्रदान गरेको बताए । अर्का विशिष्ठ अतिथि संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगले भानुभक्त आचार्य काठमाडौ आउँदा भक्तपुरसम्म नआइपुगेकाले काठमाडौलाई मात्र अलकापुरी देखेको तर रसिक भक्तपुरसम्म आइपुग्दा अलकापुरी भक्तपुर सिर्जिएकाले सिङ्गो भक्तपुर जिल्लाले गौरवान्दित महशुष गर्ने बताए । उनले हाल सम्म प्रकाशित भक्तपुरका सबै पुस्तकहरुमा मण्डपशैलीका मन्दिरलाई प्यागोडा लेख्दै आएकोमा आपत्ती जनाउँदै अलकापुरी भक्तपुर कृतिले त्यो भ्रम चिरेर मण्डपशैलीका सम्पदाहरुका विषयमा स्पष्ट पारेकोले उक्त कृति भक्तपुरको सम्पदा र संस्कृतिको क्षेत्रमा निकै महतवपूर्ण रहेको बताए ।
त्यति मात्र नभई रसिकका रसिला कलमले कुनैबेलासम्म भक्तपुर जिल्लाको उत्तर खण्ड मनहरा पारीका साँखु सम्पदासँगै साँखु पनि पहिले भक्तपुर नै थियो भन्ने तथ्यलाई उजागर गरेको बताए । अलकापुरी भक्तपुर कृतिले नेपालका सम्पदा पुजक आन्तरिक तथा बाह्य पर्यटनमा सघाउने संस्कृतिविद् ग्वंगःको भनाई छ ।
त्यस्तै भक्तपुरका संस्कृतिविद् तथा लेखक ओम धौभलेलको कृति ‘भक्तपुर दरवारका मल्लकालिन भारदारहरु’ले उनका पुस्ताहरुलाई आफ्नो पुर्खाहरु चिन्ने मौका मात्र नभई भक्तपुरका संस्कृति र सम्पदाका क्षेत्रमा कुन भारदारकहरुको योगदान कस्तो रहेको थियो भन्ने समेत ऐतिहासिक पुस्तक भएको बताए ।
कार्यक्रमका अतिथि तथा वरिष्ठ समालोचक डा. देवीप्रसाद सुवेदीले भक्तपुरकै स्थानिय लेखकदयको दुबै कृति मौलिक र यथार्थ विवरण, इतिहास र सम्पदाको नालीबेली भएकाले सम्पदा र मल्लकालिन भारदारका विषयमा जान्न र खोज अनुसन्धान गर्न चाहनेलाई उपयोगी कृति भएको बताए । कृतिकार जितेन्द्र रसिकले ८ वर्षको मेहेनतपछि आठौं कृतिका रुपमा प्रकाशित अलकापुरी भक्तपुरमा हिन्दु, बौद्ध, मुस्लिम लगायत सबै सम्पदा र संस्कृति समेतेको बताए ।
उनले भक्तपुरको भक्तपुर जिल्लाका ४ वटै नगरपालिकाका संस्कृति र सम्पदालाई कृतिमा समेत्नु भएको जानकारी दिए । त्यस्तै भक्तपुर भ्रमणमा आउन चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि र यो कृतिले भक्तपुर भ्रमणमा आउने यहाँका संस्कृतिका विषयमा जान्न चाहनेका लागि यो कृतिले सघाउने र भक्तपुरका मठ मन्दिर जात्रा, संस्कृति, इतिहास, समाज बारे जान्न सहज हुने अपेक्षा गरेको रसिकको भनाई छ ।
त्यस्तै भक्तपुरका मल्लकालिन भारदार कृतिका लेखक ओमप्रसाद धौभडेलले मल्लकालिन समयमा भारदारहरु को को थिए तिनीहरुका योगदान भक्तपुरको संस्कृति, सम्पदा निर्माणदेखि विकास सम्मका विषयवस्तु बारे कृतिबाट जानकारी लिन सक्ने बताए । उनले कतिपय नलेखिएका इतिहास र आफु भारदारका सन्तान हुँ भन्ने विर्सिएका उनीहरुकै सन्ततीलाई समेत पूर्खाको योगदान जान्ने अवशर समेत यो कृतिले दिने बताए ।































प्रतिक्रिया