काठमाडौं । नेकपा (एमाले)को सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विधान महाधिवेशनमा प्रतिनिधि बन्न नपाउने भएकी छन् ।
बिहीबार राति बसेको एमालेको सचिवालय बैठकले दसौं महाधिवेशनका प्रतिनिधि मात्रै विधान महाधिवेशनको प्रतिनिधि बन्न पाउने निर्णय गरेको हो । यो सँगै सक्रिय राजनीतिमा फर्किएकी भण्डारी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुन लागेको दोस्रो विधान महाधिवेशनमा प्रतिनिधि बन्न नपाउने भएकी हुन्।
उनीसँगै मनोनीत भएका केन्द्रीय सदस्य पनि प्रतिनिधि बन्नबाट रोकिने भएका छन्। स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने लगायत पनि प्रतिनिधि बन्न पाउने छैनन्। केन्द्रीय कमिटीमा मनोनीत भएकाहरू आयोजकको हैसियतले मात्रै सहभागी हुनेछन् ।
त्यस्तै, सचिवालय बैठकले पदाधिकारी संख्या १५ रहने निर्णय गरेको छ भने केन्द्रीय कमिटीको आकार २५१ सदस्यीय हुनेछ। केन्द्रीय कमिटीका एकतिहाइ सदस्य पोलिटब्युरोमा रहनेछन्। जसअनुसार एमालेको पोलिटब्युरो अब ८३ सदस्यीय हुनेछ। हाल एमाले पोलिटब्युरो समितिमा ९९ सदस्य छन्। साथै १५ सदस्यीय पदाधिकारीलाई नै स्थायी कमिटी मान्ने निर्णय सर्वसम्मत भएको छ।
एमालेको केन्द्रीय कमिटीमा तीन तहको संरचना रहनेछ, जसमा स्थायी कमिटी, पालिटब्युरो र केन्द्रीय कमिटी हुनेछन्। बैठकले चर्चामा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था पनि हटाएको छ।





























प्रतिक्रिया