काठमाडाैं । स्पेन युरोपियन महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। बर्नमा भएको रोमाञ्चक खेलमा आयोजक स्विट्जरल्याण्डलाई २-० ले पराजित गर्दै स्पेनले सन् १९९७ पछि पहिलो पटक युरोको सेमिफाइनलमा स्थान बनाएको हो।
विश्व च्याम्पियन स्पेनका लागि स्विट्जरल्याण्डको बलियो रक्षापंक्ति तोड्न निकै चुनौती भयो। पहिलो हाफमा स्पेनले गोलका लागि धेरै संघर्ष गर्नुपर्यो। स्पेनले खेलमा दुई पटक पेनाल्टीको अवसर पाए पनि सदुपयोग गर्न सकेन।
नवौं मिनेटमा नादिन राइजनले पेनाल्टी बक्समा फाउल गरेपछि मारियोना काल्डेन्टेले पाएको पेनाल्टी बाहिर फालेकी थिइन्। पछि एलेक्सिया पुटेलासले पनि पेनाल्टी प्रहार गर्दा स्विस गोलकिपर लिभिया पेङले बचाएकी थिइन्।
दोस्रो हाफमा भने स्पेनले कमब्याक गर्न सफल भयाे । सब्सिच्युटको रूपमा मैदान प्रवेश गरेको तीन मिनेट २४ सेकेन्डभित्रै एथेनिया डेल कास्टिलोले ६६औं मिनेटमा उत्कृष्ट फिनिसका साथ गोल गर्दै स्पेनलाई अग्रता दिलाइन्। त्यसको केही समयपछि नै क्लाउडिया पिनाले ७१ औं मिनेटमा उत्कृष्ट कर्लिङ प्रहारमार्फत दोस्रो गोल गर्दै स्पेनको जित सुनिश्चित गरिन्।
अब स्पेनले सेमिफाइनलमा फ्रान्स वा जर्मनीमध्ये एकको सामना गर्नेछ।





























प्रतिक्रिया