काठमाडौं । नेपालले साफ यू–२० महिला च्याम्पियनसिपको अन्तिम खेलमा आज बेलुकी पौने ७ बजे बंगलादेशको ढाकास्थित बसुन्धरा किङ्स एरेनामा बंगलादेशको सामना गर्दैछ । यो खेल नेपालका लागि ‘फाइनल’ सरह हुनेछ ।
डबल राउण्ड रोबिन लिगको यो अन्तिम खेलमा बंगलादेशलाई पराजित गर्नुबाहेक नेपालसँग अन्य विकल्प रहेको छैन । जबकी, बंगलादेशलाई बराबरी मात्रैले पनि उपाधि जित्न पर्याप्त रहेको छ । यो खेलमा नेपालले जित निकालेर मात्र पुग्दैन गोलअन्तरमा समेत बंगलादेशलाई उछिन्नुपर्ने चुनौती रहेको छ ।
हाल बंगलादेश सबै ५ खेल जित्दै १५ अंकका साथ शीर्ष स्थानमा रहेको छ । यस्तै, नेपालसँग ५ खेलमा ४ जित र १ हारसहित १२ अंकका साथ दोस्रो स्थानमा रहेको छ । जारी प्रतियोगितामा नेपालले भुटानलाई पहिलो खेलमा ६–१ र दोस्रो खेलमा ८–० तथा श्रीलंकालाई दुवै खेलमा ७–० ले पराजित गरेको थियो, तर बंगलादेशसँगको पहिलो भेटमा ३–२ को हारले नेपालको उपाधि सम्भावनालाई जटिल बनाएको हो ।
उक्त खेलको पहिलो हाफमै बंगलादेशले नेपालविरुद्ध २–० गोलको अग्रता लिएको थियो । तर दोस्रो हाफको ५४औं मिनेटमा दुवै टोलीका एक–एक खेलाडीले रातो कार्ड पाएपछि खेलको नेपालले गति लिएको थियो । जहाँ नेपालका लागि मिना देउवाले पूर्णिमा राईको क्रसबाट र अनिशा राईले पेनाल्टीमार्फत गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए ।
तर, इन्जुरी टाइमको अन्तिम मिनेटमा बंगलादेशकी तृष्णारानी सरकारले निर्णायक गोल गर्दै नेपाललाई निराश बनाएकी थिइन् । उक्त हारबाट कडा पाठ सिक्दै आजको खेलमा नेपालले बदला लिने लक्ष्य राखेको छ ।
आजको खेलमा नेपालले बंगलादेशलाई हराएर अंक बराबरी गर्नुपर्नेछ । यस्तो अवस्थामा हेड–टु–हेड र समग्र गोलअन्तर निर्णायक हुनेछ । हालसम्म नेपालले ५ खेलमा ३० गोल गरेको छ भने बंगलादेशले २४ गोल मात्र गरेको छ । यस्तै दुवै टोलीले ४–४ गोल बेहोरेका छन् । आजको खेलमा यदि नेपालले बंगलादेशलाई दुई गोलअन्तरले हरायो भने हेड–टु–हेड गोलअन्तर बराबरी हुनेछ, र समग्र गोलअन्तरमा नेपालको ३० गोल बंगलादेशको २४ भन्दा माथि रहनेछ, जसले नेपाललाई च्याम्पियन बनाउनेछ । यस्तै, यदि नेपालले एक गोलअन्तरले बंगलादेशलाई जित्यो भने अंक र हेड–टु–हेड गोलअन्तर बराबर हुनेछ । यस्तोमा समग्र गोलअन्तरमा नेपालको ३० गोल र बंगलादेशको २४ गोलभन्दा नेपाल नै अघि रहनेछ र नेपाल सोझैँ च्याम्पियन बन्नेछ तर, आजको खेल बराबरीमै सकियो भने बंगलादेश च्याम्पियन बन्ने छ भने नेपाल फेरि एक पटक उपविजेतामै सिमित हुनेछ ।





























प्रतिक्रिया