संसद खुलाउन सभामुख र कानूनमन्त्रीको पहल, रास्वपा र राप्रपाको अडान कायमै

संसद खुलाउन सभामुख र कानूनमन्त्रीको पहल, रास्वपा र राप्रपाको अडान कायमै

केन्द्रबिन्दु
15
Shares

काठमाडाैं । सभामुख देवराज घिमिरेले आज दिउँसो कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियासहित भिजिट भिसा प्रकरणमा संसदमा निरन्तर संघर्ष गरिरहेका रास्वपा र राप्रपाका नेताहरूसँग छलफल गरेका छन् । उनले रास्वपा कार्यवाहक सभापति डीपी अर्याल र राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङसँग छलफल गरे ।

सभामुख घिमिरेले भने, ‘भिसा प्रकरणलाई लिएर दुवै दल निरन्तर संसदीय कारवाहीमा सहभागी हुनुभएको छैन । सरकार र तपाईंहरूबीच संवाद हुन नसक्दा त्यसको असर संसदमा परेको छ । सभामुखकारुपमा मैले अप्ठ्यारो महसुस गरिरहेको छु । मेरो ठाउँमा अरु कोही सभामुख भए पनि संसद चलाउनुपर्ने बाध्यतात्मक स्थिति छ । सरकारले आगामी आर्थिक वर्षमा १२१ वटा विधेयक दिने भनेको छ । तर हाउस निरन्तर अवरोध हुँदा ती विधेयकको अवस्था के हुन्छन्, यसतर्फ सबैले सोच्न जरुरी छ । संसद चलाउने वातावरण बनाउन म सरकार र विपक्षी दलहरूलाई आग्रह गर्दछु । तपाईंहरूको सैद्धानिक, राजनीतिक र मुद्दाहरूप्रति मेरो भन्नु केही छैन । तर, संसदीय गतिविधि प्रभावित भएको छ ।’

कानून, न्याय तथा संसदीय मामिला मन्त्री चौरसियाले भने, ‘सरकारले छानबिन समिति बनाएर काम सुरू गरेको छ, त्यो पनि प्रमुख विपक्षी दलको सहमतिमा नै । सरकारले विपक्षीलाई नजरअन्दाज गरेर जाने पक्षमा छैन । रास्वपा र राप्रपासँग पनि सरकारले छलफल गरिनै रहेको छ । एउटा सहमतिको बिन्दुमा पुग्न तपाईंहरू पनि लचिलो हुनुहोस्, सरकारले आवश्यक गृहकार्य गर्छ ।’

जवाफमा रास्वपा कार्यवाहक सभापति अर्यालले भने, ‘सभामुखले सहमतिका लागि निरन्तर पहल गर्नुभएको छ । धेरै बैठक सहमतिका लागि नै स्थगित पनि गर्नुभयो । तर, हामीले उठाएका मुद्दा धेरै गम्भीर छन् । यति गम्भीर मुद्दा सम्बोधन गर्न सरकारले उल्टै तदारुकता देखाउनुपर्नेमा गैरजिम्मेवारी देखाएको छ ।’

राप्रपा उपाध्यक्ष तामाङले भने, ‘भिजिट भिसा प्रकरणमा हामीले मुद्दा उठान गरिसकेका छौं । तर, विपक्षी दल बिना सहमति फर्कन सक्ने अवस्थामा छैनन् । सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिन जरुरी छ । बैरागी छानबिन समितिले के काम गरेको छ भनेर समेत संसदलाई जानकारी दिएको छैन ।’

Logo