काठमाडौं । अष्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृङ्खलामा आफ्नो प्रभावशाली प्रदर्शन जारी राख्दै चौथो खेलमा पनि ३ विकेटको रोमाञ्चक जित हासिल गरेको छ।
यस जितसँगै अष्ट्रेलियाले पाँच खेलको शृङ्खला ४-० ले आफ्नो पक्षमा पारेको छ।
उच्च स्कोरको यस खेलमा दुवै टोलीले उत्कृष्ट योगफल बनाए पनि अष्ट्रेलियाले चार बल बाँकी छँदै लक्ष्य पछ्याउन सफल भयो। २०६ रनकाे लक्ष्य अष्ट्रेलियाले १९.२ ओभरमा ७ विकेट गुमाएर भेट्यायाे ।
क्यामरन ग्रीनको ३५ बलमा ५५ रन र जोस इंग्लिसको ३० बलमा ५१ रनको महत्वपूर्ण इनिङ्सले राम्रो जग बसाल्यो। तर, खेलको अन्तिम चरणमा ग्लेन म्याक्सवेलले मात्र १८ बलमा विष्फोटक ४७ रन बनाउँदै अष्ट्रेलियालाई जित दिलाउन निर्णायक भूमिका खेले। म्याक्सवेल ‘प्लेयर अफ द म्याच’ घोषित पनि भए ।
वेस्ट इन्डिजका जेडीया ब्लेड्सले २९ रन खर्चेर ३ विकेट लिए। अकेल हुसेन र जेसन होल्डरले पनि १-१ विकेट हात पारे।
त्यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले आफ्नो निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २०५ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो । शेर्फन रदरफोर्डको १५ बलमा ३१ रन, रोमरिओ शेफर्डको १८ बलमा २८ रन र रोभम्यान पावेलको २२ बलमा २८ रनको योगदानले अष्ट्रेलियालाई कठिन लक्ष्य दिएको थियो।
अष्ट्रेलियाका लागि एडम जाम्पाले ५४ रन खर्चेर ३ विकेट लिए भने आरोन हार्डी र जेभियर बार्टलेटले पनि समान २-२ विकेट लिए ।





























प्रतिक्रिया