नाइमा एक्स्पो २०२५ गाडी निर्माता र आयातकर्ताको लागि नयाँ अवसर हाे, नाडासँग द्वन्द्व छैन -गौरव शारडा

नाइमा एक्स्पो २०२५ गाडी निर्माता र आयातकर्ताको लागि नयाँ अवसर हाे, नाडासँग द्वन्द्व छैन -गौरव शारडा

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) ले आगामी साउन २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल मोबिलिटी शो २०२५’ आयोजना गर्दैछ । करिब पाँच दशकको इतिहास बोकेको नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन (नाडा)बाट एकाधिकारलाई तोड्दै नाइमाले पहिलोपटक प्रदर्शनी गर्न लागेको हो। पाँच दिनसम्म चल्ने यस प्रदर्शनीमा अग्रणी अटो ब्रान्डहरू, नयाँ प्रविधि र विद्युतीय सवारीसाधनका आकर्षक मोडेलहरू प्रस्तुत गरिने नाइमाको भनाइ छ । यसै शोको विषयमा रहेर ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ का संयोजक गौरव शारडासँग गरिएको कुराकानीको सम्पादित अंश-

‘नाइमा नेपाल मोबिलिटी शो २०२५’ सुरु हुँदैछ, कस्तो छ तयारी ?

-हामी पूर्ण तयारीमा छौं ।

विगतमा नाडा अटो शो भनेर अटो सेक्टरमा एउटा मात्रै कार्यक्रम हुने गरेको थियो। यसपाली दुई वटा शो हुँदैछन् दुई साताको अन्तरालमा त्यो पनि एउटै स्थानमा । एउटै उदेश्य बोकेका अटोमोबाइल सेक्टरको फरक–फरक शोको उद्देश्य के हो ? नाडा अटो शोसँग के भिन्नता छ ?

-नाइमा भनेको फोर ह्विलर, टू ह्विलर, कमर्सियल, थ्री ह्विलर, ट्रक, बस आयातकर्ता र निर्माताको एउटा छाता संगठन हो। यिनीहरूको आयातकर्ता र म्यानुफ्याक्चर्सहरूलाई एक ठाउँमा एकजुट गरेर राखेको छाता संगठन हो। यसले मात्रै यो एउटा पार्ट अफ इन्डस्ट्रीको पोलिसी मेकिङ, लबिङ, यसको लागि संवाद गर्नेछ ।

हिजोको दिनमा नाडा अटो शोको एकलौटी राज थियो नि। अब त्यो एकाधिकारचाहिँ अहिले तोडिएको हो?

-होइन, नाडा पनि एउटा संगठन छ । नाइमा पनि एउटा संगठन हो। हामीले सहकार्य धेरै कुरामा सहकार्य गर्ने जरुरी देखिन्छ । अनि, हाम्रो प्रेसिडेन्टले पहिला पनि भन्नुभएको छ, हामी सहकार्य गरेरसँगै जुन पोलिसी दुवै संस्थालाई मिल्दोजुल्दो पोलिसी छ, त्यसको लागि हामी सँगै लड्ने हो।

लामो समयसम्म त एउटै छातामुनि अटाएको थियो । अहिले, यो कसरी फुट्ने अवस्थामा कसरी आइपुग्यो ?

-फुटेको छैन। नाइमाका धेरै सदस्य अहिले पनि नाडाका सदस्य छन्। नाइमाको उद्देश्य भनेको चाहिँ आयातकर्ता र म्यानुफ्याक्चर्सहरू, गाडीको आयातकर्ता र म्यानुफ्याक्चर्सहरूलाई बोकेर हिँड्ने हो। अनि, नाइमा मोबिलिटी एक्सपाेमा पनि त्यही कुरालाई राखेर गाडी, मोटरसाइकल, कमर्सियल भेहिकल मात्रै पाउनुहुन्छ ।

यसअघिका नाडा अटो शोको कमजोरी भएकै कारणले यो नयाँ शाे जन्मिएको हाे ?

-होइन, नाइमा जुन संगठन छ, आयातकर्ता र म्यानुफ्याक्चर्सहरूले के महसुस गरे भने हाम्रो लागि यहाँ स्पेस पुगेन । त्यसकारण हामी एउटा छाता संगठनको मुनि आएर काम गरिरहेका छौँ। धेरै सुझाव आए, हामीले नाइमा खोलेपछि मोबिलिटी एक्स्पाे गर्नुभन्दा अगाडि एउटा कुरो के आयो भने स्टलको कस्ट धेरै महँगो भयो। जुन ग्राहकहरू आउँछ, उनीहरूलाई सुविधा भएन। अटो शोको बीचमा मुभमेन्टको एरिया जुन छ, त्यो कम भयो। स्टलको साइज सानो भयो। इन्टरयाक्ट गर्ने ठाउँ भएन। यो कुराहरूलाई मध्यनजर गर्दै मोबिलिटी एक्सपोमा सुधार गरेर यो कुराहरू प्रस्तुत गर्ने हो।

धेरैवटा ब्रान्डले ठाउँ पनि पाएनन्। ठाउँको पनि एउटा इस्यु थियो। अर्को हाम्रो नाइमा मोबिलिटी एक्सपाेले गाडी, मोटरसाइकल, फोर व्हीलर, टू व्हीलर, कमर्सियल र थ्री व्हीलरलाई मात्रै प्रदर्शन गर्नलाई ठाउँ दिने हो। ‘फोकस इज वन्ली अन मोबिलिटी।’

यसअघिका नाडा अटो शोमा विगत केहि वर्षदेखि ईभीलाई बढी प्रोत्साहन गरेको देखिएको थियो। यसपालिको नाइमा मोबिलिटी एक्सपाेले पनि त्यसैलाई निरन्तरता दिन्छ, कि के छ फरक ?

-नाइमामा हामीले ईभी या पेट्रोल गाडी भनेर छुट्टाएका छैनौँ। सबैलाई ओपन प्ल्याटफर्म छ प्रदर्शनका लागि। नाइमामा पेट्रोल, इभी लगायत हाइब्रिड गाडीहरू पनि भेट्नुहुन्छ । यसमा ठूला–ठूला ब्रान्ड, जसले उपस्थिति गरिराख्या थिएनन्। उनीहरूले पनि नाइमा मोबिलिटी एक्सपोमा उपस्थिति जनाउने छन्।

नाइमामा कुन–कुन ब्रान्डहरू सहभागी छन् ?

-फोर व्हीलरको केसमा चाहिँ २३ वटा ब्रान्डले सहभागी हुनेछन्। र मोटरसाइकलको केसमा १८ वटा ब्रान्डले पार्टिसिपेट गर्नेछन्। कमर्सियलमा सात वटा र एउटा थ्री व्हीलर ब्रान्डले पार्टिसिपेट गर्नेछन् । जस्तै टोयोटा, हुन्डाई, बीवाईडी, ओमोडा जेइको, निसान, महिन्द्रा, होन्डा लगायत सबै ब्रान्डहरूले सहभागिता जनाउने छन्।

अहिले नेपाली बजारमा ईभीले एकदमै राम्रो मार्केट लिइरहेको छ। ३२ वटा हाराहारीमा ईभी ब्रान्डहरू नेपाल भित्रिसकेको अवस्था छ । नेपाली बजारमा यी सबै ब्रान्डले चाहिँ टिक्न सक्ला ? के छ, कसरी हेर्नुभएको छ ?

-ग्राहकले जुन ब्रान्डलाई रोज्छन्, जसले राम्रो प्रोडक्ट, राम्रो मूल्य र राम्रो सर्भिस दिन्छ, उसले सर्भाइभ गर्छ। त्यसकारण प्रतिस्पर्धा नभइकन ग्राहकलाई पनि राम्रो छैन। जति बढी प्रतिस्पर्धा, त्यति राम्रो छ ग्राहकको लागि।

नेपालको पूर्वाधार विकासमा यो अटो शोले व्यवहारिक रूपमा परिवर्तन ल्याउनसक्छ या सक्दैन ?

-हाम्रो मोबिलिटी एक्सपोको दौरानमा टक शो, सेमिनार राख्ने पनि प्लान छ। त्यसले चाहिँ एड्रेस गर्ने भनेको यही पूर्वाधारका कुराहरू, पोलिसी मेकिङका कुराहरू, रोड सेफ्टीका कुराहरू, यिनीहरूलाई एड्रेस गर्नलाई हामीले अलग्गै अटो शोको पाँच दिनको ड्यूरेसनमा विभिन्न विषयहरूलाई समावेश गरेर हरेक दिन एउटा टक शो कार्यक्रम राखेका छौँ।

यो पूर्वाधारलाई अझै राम्रो बनाउनको लागि सरकारले के गर्नुपर्ला?

-सबैभन्दा पहिला त बजेट छुट्टाउनुपर्यो। त्यसपछि त्यो बजेट समयमै प्रयोग गर्नुपर्यो। रोड इन्फ्रास्ट्रक्चरमा, रोड सेफ्टीमा, इभीको लागि चार्जिङ स्टेशनमा। यो पूर्वाधार जबसम्म बन्दैन, त्यो बेलासम्म इकोनोमी पनि भाइब्रेन्ट हुँदैन। सरकारले जब पूर्वाधार बनाउन खर्च गर्छ, त्यसबेला हाम्रो इकोनोमीमा भाइब्रेन्सी आउँछ । क्यापिटल एक्सपेन्डिचर सरकारले बढायो भने बजारमा अटोमेटिक पैसाको फ्लो बढ्छ । त्यसले गर्दा इकोनोमीको ग्रोथ आउँछ ।

नेपालमा चार्जिङ स्टेशन विस्तारको लागि समस्याहरू के छन् अथवा यो कसरी अगाडि बढिरहेको छ ?

-इन्फ्रास्ट्रक्चर राम्रो ग्रोथ छ। नेपाल विद्युत प्राधिकरणले पनि केही चार्जिङ स्टेशनहरू राखेको छ। त्यसपछि आयातकर्ताहरूले धेरै वटा चार्जिङ स्टेशन ब्रान्ड वाइज राखेका छन्। विगतको छ/आठ महिनामा प्राइभेट सेक्टर इन्भेस्टमेन्टमा धेरै वटा नयाँ चार्जिङ स्टेशनको फ्यासिलिटीहरू आइसकेका छन्। त्यसकारण चार्जिङ स्टेशन नेपालमा अगाडि बढिरहेको भन्दा फरक पर्दैन । कम्पनीहरूले आफ्नो ब्रान्डको लागि चार्जिङ इन्फ्रास्ट्रक्चर बनाउँदा पनि अरू प्राइभेट सेक्टर, इन्भेस्टरहरूले यसलाई बिजनेसको रूपमा विस्तार गरिरहेका छन्। यो इभी इन्फ्रास्ट्रक्चरको लागि एउटा राम्रो कुरा हो।

यो नाइमा नेपाल मोबिलिटी एक्स्पोमा अवलोकनकर्ता र आयातकर्ता अथवा व्यवसायीहरूलाई के–के कुरामा सहुलियत दिनुभएको छ ?

-हामीले स्टलको शुल्क छ, त्यो न्यून राखेका छौँ। स्टलको साइज, स्पेस बढाएका छौँ। जुन फ्लो छ, त्यो फ्लोलाई वैज्ञानिक रूपले डिजाइन गरेका छौँ । विगतका वर्षमा पार्किङ सम्बन्धि कुराहरू बाहिर आएको थियो। हामीले डेडिकेटेड मिडिया पनि राखेका छौँ। पहिलो दिन शाेमा बिजनेस कस्टमर्स र मिडियालाई मात्रै इन्टरटेन दिने। र पछिका चार दिन चाहिँ ग्राहकलाई इन्टरटेन गर्नलाई हामीले छुट्टाएका छौँ।

एक्सपाेमा प्रवेश शुल्कहरूकाे अवस्था के छ?

हाम्रो टिकेटिङ पार्टनर खल्ती छ । टिकटको मूल्य चाहिँ २०० रुपैयाँ तोकिएको छ ।

नाइमा मोबिलिटी एक्सपाेमा कति दर्शक आउनुहुन्छ भन्ने अपेक्षा गर्नुभएको छ ? अनि, कारोबारको अपेक्षा के छ?

-नेपाल मोबिलिटी एक्सपो नेपालकाे आजसम्मै सबैभन्दा ठूलो मोबिलिटी अटो शो हुनेछ । त्यसकारण हाम्रो एक्सस्पेक्टेसन पनि सबैभन्दा बढी ग्राहक आउने र राम्रो व्यापार हुने भन्ने नै छ ।

यहाँ त एसपीजी अटोमोबाइलको निर्देशक पनि हुनुहुन्छ। नेपाली बजारमा चाहिँ ओमोडाको मार्केट कस्ताे छ र योपटक केही अफर ल्याउनुभएको छ ?

-नाइमालाई ध्यान राखेर हामीले केही न केही अफरहरू लिएर आउनेछौँ। तीनटै ब्रान्डमा ओमोडा जेइको, निसान र जिकरमा। प्लस दुईटा नयाँ मोडल पनि नाइमामा हामी सार्वजनिक गर्नेछौं ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

-सबैलाई म निम्ताउन चाहन्छु । आएर अनुभव बटुल्नुहोस्। हामीले केही नयाँ, रामो र ठुलो गर्ने प्रयास गरेका छौँ । ५० वटा ब्रान्ड उपस्थित भएको नेपाल मोबिलिटी एक्सपो जुन साउन २१ गतेदेखि भृकुटीमण्डपमा हुँदैछ ।

Skip This
Skip This
Logo