सिन्धुपाल्चोककै ठूलो गौराती भीमेश्वरको मेला यस वर्ष नहुने

सिन्धुपाल्चोककै ठूलो गौराती भीमेश्वरको मेला यस वर्ष नहुने

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक ।

प्रत्येक कार्तिक पूर्णिामाको दिन लाग्ने सिन्धुपाल्चोक जिल्लाकै ठूलो गौराती भीमेश्वरको मेला यस वर्ष नहुने भएको छ । कोभिड–१९ को महामारीलाई ध्यानमा राखी नित्य पूजाबाहेक भीडभाड हुन नदिने उद्देश्यले मेलामा रोक लगाइएको गौराती विकास समाजका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।

सरकारी पूजासहित करीब पाँच हजार पशुपक्षीको बलि हुने उक्त मन्दिरमा कुनै बलि पूजा नहुने र पसल राख्नका लागि कक्ष नबनाउनसमेत जिल्ला प्रशासन कार्यालयबाट सर्वसाधारणलाई आग्रह गरिएको छ । सदरमुकाम चौताराबाट चार किलोमिटर उत्तरपश्चिममा रहेको गौरातीडाँडामा अवस्थित गौराती भीमेश्वरको मेला पूर्णिमाको दिन शुरु भई द्वितीयाका दिन समाप्त हुन्छ ।

चौताराको पुरानो बजारको गुठीघरबाट भीमसेनको मूर्ति रथमा राखी गुठीयारले पूर्णिमाको राति गौराती भीमेश्वरको मूर्तीसँग मिलन गराई भोलिपल्ट पुनः फिर्ता गरी गुठीयारका घरघरमा पूजा गरेपछि द्वितीयाका दिन सिन्दूरजात्रा सम्पन्न गरी साँझ गुठीघरमा थन्क्याइन्छ ।

यस वर्ष भने स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सवारीसाधनमा मूर्ति राखेर लाने र ल्याउने गरिने व्यवस्था मिलाइएको चौतारा सागाँचोकगढी नगरपालिका–५ का वडाध्यक्ष नरमान पालिखेले बताए ।

किंवदन्ती अनुसार पौराणिक कालमा जंगल रहेको सो डाँडामा गोठालाले खर्क राखी गाई चराउने गर्थे । गाईले राति राति एउटा ढिस्कामा दूध चढाउने गरेको गोठालाले पत्ता लगाएपछि भोलिपल्ट खनेर हेर्दा रगत देखा पर्नाका साथै दिव्य मूर्ति प्रकट भई दैनिक पूजा गरे भलो हुने बताउँदै अन्तर्ध्यान भएकाले सोही समय देखि पूजाआजा गर्ने चलन चलेको हो । ‘गौ’ अर्थात् गाईले राति दूध चढाएका कारण गौराती र भूमि खनेर उत्पत्ति भएकाले भूमेश्वर हुँदै कालान्तरमा भीमेश्वर हुन गएको बताइन्छ ।

धर्मशास्त्रमा सो कुराको उल्लेख भए पनि ऐतिहासिक प्रमाणका रुपमा भने पीपलडाँडा निवासी दलबहादुर कुँवर नामक व्यक्तिले सो मन्दिरमा वि.सं १६४२ मा चढाएको ढलोटको घण्टाका आधारमा ४३२ वर्ष पहिलेदेखि पूजाआजा गरिँदै आएको स्पष्ट हुन आउँछ । मन्दिरलाई विभिन्न कालखण्डमा जीर्णोद्वार गरिँदै आए पनि वि।सं २०५३ मा पुनःनिर्माण गरी तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यबाट स्तम्भ स्मृतिको अनावरण भएको थियो । समुद्री सतहबाट एक हजार ८२८ मिटरको उचाइमा रहेको मनोरम डाँडाबाट मनोरम दृष्य अवलोकनका साथै जुगल हिमशृङ्खलालाई नजिकबाट नियाल्न सकिन्छ ।

Skip This
Skip This
Logo