काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाएका छन् । आज बसेको प्रदेश संसदीय दलको बैठकमा मतविभाजन हुँदा लामाको विपक्षमा २२ मत परेको छ भने पक्षमा १५ मत मात्र परेको छ ।
३७ जना सांसद रहेको कांग्रेस बागमती संसदीय दलमा लामाविरूद्ध २२ जना सांसदहरूले हस्ताक्षर गरेका छन्। संसदीय दल नेताको हैसियत गुमेसँगै लामामाथि मुख्यमन्त्री छाड्नुपर्ने दबाब बढेको छ । त्यसका लागि २१ जना सांसदहरूले संसदीय दल कार्यालयमा गत शुक्रबार नै हस्ताक्षर बुझाइसकेका थिए भने आज २ जनाले फिर्ता लिँदा खोनपानी मन्त्री पनि विपक्षमै उभिएका छन् ।
लामाको संसदीय दल नेताको हैसियत गुमेसँगै अब ईन्द्रबहादुर बानियाँ संसदीय दल नेता हुँदै बागमतीको मुख्यमन्त्री हुने ढोका खुलेको छ । बानियाँ बागमती प्रदेश कांग्रेस सभापति हुन् । २१ जना सांसद आफ्ना पक्षमा खुलेकोले आफू संसदीय दल नेता हुँदै मुख्यमन्त्री हुनेमा उनी ढुक्क देखिन्छन्। किनकी संसदीय दलको नेता हुन १९ जनाको समर्थन जुटाउन आवश्यक छ ।
लामाले अब मुख्यमन्त्रीमा अडान छाडेनन् भने कांग्रेसकै सांसदहरूले प्रदेश सभामा पनि अविश्वास प्रस्ताव लैजान सक्ने देखिन्छ। २०७९ पुस १३ गते भएको संसदीय दल नेता निर्वाचनमा बानियाँलाई लामाले ५ मतान्तरले हराएका थिए। बानियाँले १६ मत ल्याउँदा लामाले २१ मत ल्याएका थिए र एक वर्षअघि २०८१ साउन ८ गते संसदीय दल नेता उनी एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। लामा मुख्यमन्त्री बनेको वर्षदिन पुगेको र बजेटलाई लिएर बागमतीमा विवाद देखा परेको मौकामा उनलाई संसदीय दल नेताबाट हटाइएको हो ।





























प्रतिक्रिया