लक्ष्मी सनराइज बैंकको ठूलो हिस्सा खेतान समूहको पकडमा

लक्ष्मी सनराइज बैंकको ठूलो हिस्सा खेतान समूहको पकडमा

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । नेपालको व्यावसायिक क्षेत्रमा खेतान समूहले पछिल्लो समय आफ्नो प्रभाव विस्तार गरिरहेको छ। विभिन्न क्षेत्रमा लगानी गर्दै आएको यस समूहले वित्तीय क्षेत्रमा विशेष जोड दिएको देखिन्छ।

नेपालका वाणिज्य बैंकहरूको नाफामा कमी आइरहेका बेला पनि खेतान समूहले लक्ष्मी सनराइज बैंकमा आफ्नो लगानी आक्रामक रूपमा बढाइरहेको छ। यो समूहले लगानी बढाउनुले बैंकको व्यवस्थापनमा आफ्नो पकड बलियो बनाउने प्रयास गरेको बुझिएको छ। समूहका अध्यक्ष राजेन्द्र कुमार खेतानले व्यक्तिगत रूपमा, आफ्ना परिवारका सदस्यहरूको नाममा र समूहका विभिन्न कम्पनीहरूमार्फत बैंकको ठूलो हिस्सा नियन्त्रणमा लिएका छन्।

राजेश खेतानले हालै बैंकका संस्थापक सेयरधनीहरू कैलाश चन्द्र गोयल, श्रवण कुमार गोयल, भोगेन्द्र कुमार गुरागाई र भुषण गुरागाईको स्वामित्वमा रहेका सेयरहरू खरिद गरेका छन्। यस खरिदपछि राजेन्द्र खेतानसँग मात्र १ करोड ६२ लाख कित्ताभन्दा बढी सेयर स्वामित्व पुगेको छ । जुन बैंकको कुल सेयरको ६ प्रतिशतभन्दा धेरै हो।

समूह निकट स्रोतका अनुसार राजेन्द्र खेतानकी श्रीमती सारिका खेतान र छोरी स्नेहा खेतानसँग पनि समान १ करोड कित्ताभन्दा बढी सेयर स्वामित्व रहेको छ। यस्तै, राजेन्द्र खेतानकी बहिनी पूजा अग्रवाल खेतानको २७ लाख कित्ताभन्दा बढी सेयर रहेको छ। यी व्यक्तिगत लगानीका अतिरिक्त, खेतान समूहको नाममा रहेका कम्पनीहरू एमटिसी इन्भेष्टमेन्ट प्रालि, लक्ष्मी कर्प नेपाल प्रालि र हिमालयन एक्जिम प्रालिसँग पनि बैंकको २ करोड कित्ताभन्दा बढी सेयर स्वामित्व रहेको छ।

यी सबै स्वामित्वलाई जोड्दा खेतान समूहको लक्ष्मी सनराइज बैंकमा कुल ६ करोड ६० लाख कित्ताभन्दा बढी सेयर पुगेको देखिन्छ। बैंकको हालको चुक्ता पुँजी २४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ रहेको सन्दर्भमा यो सेयर स्वामित्व बैंकको कुल पुँजीको २७ प्रतिशतभन्दा धेरै हुन आउँछ। यसले लक्ष्मी सनराइज बैंकमा खेतान समूहको बलियो नियन्त्रण स्थापित भएको स्पष्ट पार्छ। बैंकको सञ्चालक समिति र प्रमुख निर्णयहरूमा समूहको प्रभाव अब झन् बढ्ने निश्चित छ।

लक्ष्मी सनराइज बैंकमा आफ्नो पकड बलियो बनाएपछि खेतान समूहले डिजिटल भुक्तानी क्षेत्रमा पनि प्रवेश गरेको छ। समूहले फोन पेको २० प्रतिशत सेयर स्वामित्व खरिद गर्ने तयारी गरेको छ। खेतान समूह र फोन पे बीच यस सम्बन्धमा प्रारम्भिक सम्झौता भइसकेको छ। प्रारम्भिक सम्झौता अनुसार खेतान समूहले १ अर्ब ४० करोड रुपैयाँमा फोन पेको २० प्रतिशत सेयर खरिद गर्नेछ। यसको लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्छ । स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाइसकेको छ। लगानीकर्ता समूहको ’फिट एन्ड पर्पर टेस्ट’ गरेर योग्य ठहरिएपछि मात्र सेयर खरिद–बिक्री प्रक्रिया अगाडि बढ्नेछ।

खेतान समूहले ग्लोबल इक्विटी फण्ड अन्तर्गतका नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड र नेपाल इम्प्याक्ट ग्रोथ इक्विटी फन्ड–१ मार्फत फोन पेमा लगानी गर्ने योजना बनाएको छ। खेतान समूहको वित्तीय क्षेत्र, बिमा कम्पनी, आइटी, भेञ्चर क्यापिटल लगायतका विभिन्न क्षेत्रमा लगानी रहेको छ। खेतान समूहको लगानी केवल नेपालमा मात्र सीमित नभई अन्तर्राष्ट्रिय स्तरमा समेत विस्तार गरिरहेको छ ।

Logo