काठमाडौं
प्रमुख चार राजनीतिक दल सम्पत्ति विवरण संकलन गर्न तातेका छन् । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ मा भएको व्यवस्था अनुसार ती दल सम्पत्ति विवरण संकलनमा जुटेका हुन् ।
राष्ट्रिय राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) , नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालले आफ्ना केन्द्रीय पदाधिकारी र सदस्यलाई सम्पति विवरण बुझाउन निर्देशन दिएका हुन् ।
ऐनअनुसार सबै राजनीतिक दलमा रहेका केन्द्रीय पदाधिकारी एवं सदस्यले आफ्नो चलअचल सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५३ को उपदफा १ मा केन्द्रीय समितिका पदाधिकारी र सदस्यमा निर्वाचित भएको व्यक्तिले निर्वाचित भएको ६० दिन भित्र आफ्नो चलअचल सम्पतिको विवरण सिलबन्दी गरी दलको केन्द्रीय कार्यालय समक्ष पेस गर्नुपर्नेछ ।
यसैगरी दफा ५३ को उपदफा २ मा उपदफा १ बमोजिमको विवरण प्राप्त भएपछि त्यस्तो कार्यालयले अभिलेख राखी सम्पत्ति विवरण पेस गर्ने र नगर्ने पदाधिकारी, केन्द्रीय सदस्यको नाम विवरण पेस गर्नुपर्ने अवधि नाघेको एक महिना भित्र प्रकाशन गर्ने उल्लेख छ । तर राजनीतिक दल सम्बन्धी ऐन बमोजिमका काम कुनै पनि दलका नेताले गरेका छैनन् । चारै राजनीतिक दलले पार्टीको केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यको सम्पत्ति विवरण संकलन गरिरहेको जनाएका छन् ।
निर्वाचन आयोगले ऐनको दफा ५४ को उपदफा ७ मा सम्पत्ति विवरण पेस नगरेमा प्रत्येक व्यक्तिलाई १० हजार जरिवाना गर्न सक्ने व्यवस्था छ । आयोगले राजनीतिक दललाई पत्राचार गरी नियम पालना गर्न ताकेता गरेको छ । आयोगले ताकेता गरेपछि राजनीतिक दलहरू विवरण संकलन गर्न तातेका हुन् । सबै पदाधिकारी एवं सदस्यको सम्पत्ति विवरण संकलन गरेर सार्वजनिक गर्ने उनीहरूले जनाएका छन् ।
राजधानीबाट





























प्रतिक्रिया