काठमाडाैं । बुधबार साँझ स्पेनिस क्लब रियल बेटिस र इटालियन क्लब कोमोबीच भएको मैत्रीपूर्ण खेलमा तनावपूर्ण स्थिति सिर्जना भएको छ । खेलका क्रममा दुई पक्षका खेलाडीबीच हात हालाहाल र झगडा भएको थियो । यस घटनामा पूर्व प्रिमियर लिगका खेलाडीहरू पनि संलग्न थिए ।
सिरि ‘ए’ क्लब कोमोले ३–२ गोलको जित हासिल गरेको उक्त खेलमा पहिलो हाफको अन्त्यतिर ठूलो विवाद भएको थियो । झगडाको मुख्य कारण वेस्ट ह्यामका पूर्व खेलाडी पाब्लो फोर्नाल्स र कोमोका म्याक्सिमो पेरोनबीचको झडप थियो । दुवै खेलाडीबीच धकेलाधकेल सुरु भएपछि फोर्नाल्सले पेरोनलाई मुक्का हानेको आरोप लागेको छ । त्यसपछि अवस्था झनै तनावग्रस्त भएको थियो र दुवै टोलीका खेलाडीहरू एक-अर्कामाथि जाइलागेका थिए ।
झगडाका क्रममा एक अनौठो घटना पनि भएको थियो । कुचो हर्नान्डेजले प्रतिद्वन्द्वी खेलाडीलाई मुक्का हान्न खोज्दा गल्तीले आफ्नै टोलीका खेलाडी नाटनको अनुहारमा हानेका थिए । यद्यपि, फोर्नाल्स र हर्नान्डेज दुवैलाई मुक्का हानेको आरोप लागे पनि रातो कार्ड दिइएन ।
त्यस्तै, आर्सनलका पूर्व खेलाडी हेक्टर बेलेरिन पनि रेफ्रीसँग चर्को बहस गर्दा अन्ततः रातो कार्ड पाए । तर, पहिलो हाफ सकिनुअघि उनको रातो कार्ड फिर्ता गरिएको थियो । यस घटनाका कारण दुवै क्लबमाथि कारबाहीको सम्भावना बढेको छ ।
रियल बेटिस अब आफ्नो लालिगाको पहिलो खेलमा एल्चेसँग भिड्नेछ । उता, कोमोले कोपा इटालीयाको पहिलो चरणमा सुदित्रोलसँग खेल्नेछ र त्यसपछि सिरि ‘ए’ मा लाजिओको सामना गर्नेछ ।





























प्रतिक्रिया