काठमाडौं । आजदेखि २२औं डाबर तीज फेस्टिवल तथा सिर्जनशील उद्यमी मेला सुरु भएको छ ।
बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा सृजनशील केन्द्रको प्रवद्र्धन तथा राइजिङ्ग नेपाल प्रा.लि.सँगको सहकार्यमा एवं इभेन्ट सञ्चार डट कमको व्यवस्थापनमा आयाेजित चार दिने मेलाकाे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका हुन् ।
महिला दिदीबहिनीहरूलाई सीपमा दक्ष बनाउँदै उद्यमशिलता र स्वरोजगारतर्फ प्रेरित गर्नु र प्रविधिमैत्री वातावरण सिर्जना गरेर उनीहरूलाई आर्थिक रूपमा सशक्त बनाउने उदेश्यका साथ मेलाको आयोजना गरिएकाे हो ।
उद्घाटन समारोहमा बोल्दै मन्त्री भण्डारीले यस प्रकारका मेलाले महिला र युवा उद्यमीहरूलाई प्रोत्साहन दिने मात्र होइन, उनीहरूको उत्पादनलाई ग्राहकसम्म पु-याउने पुलको काम गर्ने बताए ।
उनले सरकार उद्यमशीलताको प्रवद्र्धनका लागि नयाँ नीतिहरू ल्याइरहेको उल्लेख गर्दै भने, ‘आज हामीसँग वाणिज्य विभागको डिजिटल पोर्टल छ, जहाँ उत्पादन भएको वस्तु राखेर अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न सकिन्छ । हामीले ‘प्याटर्न राइट’ जस्ता कानुनी संरचनाहरू पनि तयार गरेका छौं, जसले नेपाली मौलिकता, हस्तकला, डिजाईन र उत्पादनको संरक्षण गर्छ ।’
मेलाको आयोजक राइजिङ्ग नेपाल प्रालिका प्रमुख पशुपति केसीले यो मेला केवल व्यवसायिक होइन, महिलालाई सीपयुक्त, स्वरोजगारमुखी र आर्थिक रूपमा सशक्त बनाउन प्रेरणाको थलो भएको बताए । यस वर्षको मेलामा युवाको उपस्थिति उल्लेख्य रहेको भन्दै उनले नयाँ पुस्ता उद्यमशीलताको यात्रामा लागेको देखिनु सकारात्मक संकेत भएको बताए ।
मेलामा लत्ताकपडा, कस्मेटिक, चुरा–पोते, गहना, परिकार, घरेलु सामग्रीलगायत तीजलाई लक्षित गरेका १ सय स्टल छन् । नारी सशक्तिकरणको सन्देश बोकेको यो उत्सव साउन २५ गतेसम्म चल्नेछ ।





























प्रतिक्रिया