काठमाडौँ

बिम्स्टेक राष्ट्रबीच हुने संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी नहुने भएको छ । "/>

बिम्स्टेक सैन्य अभ्यासमा नेपाल नजाने : थाइल्यान्ड र म्यान्मारले समेत पुनर्विचार गर्ने

बिम्स्टेक सैन्य अभ्यासमा नेपाल नजाने : थाइल्यान्ड र म्यान्मारले समेत पुनर्विचार गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

बिम्स्टेक राष्ट्रबीच हुने संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी नहुने भएको छ । नेपालको सहभागितालाई लिएर विवाद उत्पन्न भएपछि प्रधानमन्त्री केपी ओलीले सैन्य अभ्यासमा नजान नेपाली सेनालाई निर्देशन दिएका हुन् । भदौ २५ देखि ३१ गते (सेप्टेम्बर १०–१६) सम्म भारतको पुणेमा संयुक्त सैन्य अभ्यास हुँदैछ । प्राविधिक र आर्थिक सहायताका लागि बनेको संगठन भित्र सैन्य अभ्यासको विषयले प्रवेश पाउनु असान्दर्भिक भएको भन्दै आलोचना हुँदै आएको थियो ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को सैन्य अभ्यासको समापन समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापा समेत सहभागी हुँदै थिए । प्रधानमन्त्रीको निर्देशनपछि नेपाली सेनाले सहभागिताका लागि गरेको सम्पूर्ण तयारी स्थगित गरेको छ ।

‘बिम्स्टेक राष्ट्रबीच हुने सैन्य अभ्यासमा नेपाली सेनाले सहभागिता नजनाउने भएको छ’, सैनिक उच्च स्रोतले भन्यो, ‘पुणे सैन्य अभ्यासमा जान गरिएको सबै तयारी हामीले स्थगित गरेका छौं ।’ सैन्य अभ्यासमा जान नेपाली सेनाले अन्तिम तयारी गरिरहेको थियो ।

काठमाडौंमा भएको बिम्स्टेक सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत सदस्य राष्ट्रबीच संयुक्त सैन्य अभ्यास हुने भनेका थिए । बिम्स्टेक सदस्य राष्ट्रका सेनाबीच पहिलो पटक हुन लागेको सैन्य अभ्यास अन्तराष्ट्रिय आतंकवाद र अन्तरदेशीय संगठित अपराधविरुद्ध केन्द्रित रहने बताइएको छ ।

पुणे संयुक्त सैन्य अभ्यासमा सहभागी हुने तयारीमा रहेका मुलुक थाइल्यान्ड र म्यान्मारले समेत पुनर्विचार गर्ने सम्भावना रहेको सैनिक स्रोतले बताएको छ ।

बिम्स्टेक सदस्य राष्ट्र भारतको आयोजनामा हुन लागेको उक्त अभ्यासमा भारतसहित बंगलादेश, भुटान, म्यान्मार, नेपाल, श्रीलंका र थाइल्यान्डका सेना सहभागी हुने तयारी थियो । अभ्यासमा प्रत्येक बिम्स्टेक राष्ट्रका ३० जना सैनिक अधिकारी सहभागी रहने भएकाले नेपाली सेनाले समेत सोही अनुसार तयारी गरिरहेको थियो ।
अन्नपूर्णबाट

Logo