काठमाडौं । तीजको अवसरलाई मध्यनजर गर्दै साउन २२ गते देखि सुरु भएको २२औं ‘डाबर तीज फेस्टिवल तथा सिर्जनशील उद्यमी मेला’ सफलतापूर्वक सम्पन्न भएको छ ।
महिला तथा युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सिर्जनशील केन्द्रको प्रवर्द्धन, राइजिङ नेपाल प्रालिसँगको सहकार्य तथा इभेन्ट सञ्चार डटकमको व्यवस्थापनमा आयाेजित मेला सम्पन्न भएको हो । काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा भएकाे मेलामा तीजका सामग्रीहरु मुख्य केन्द्रको रुपमा रहेको थियो ।
उद्यमी महिला र युवाहरूले आफ्ना उत्पादन तथा सेवाहरू बजारमा पु-याउन यस्ता मेलाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । साथै, यस किसिमका आयोजनाले आन्तरिक उत्पादनको खपत बढाउने र रोजगारी सिर्जनामा सहयोग पुग्ने आयोजक पक्षले दाबी गरेको छ ।
महिला सिर्जनशील केन्द्रकी अध्यक्ष मिलु थापाका अनुसार, मेला नाफामुखी भन्दा पनि श्रमजीवी महिलाको सीपलाई बजारसम्म पु-याउने पुलको रूपमा सञ्चालन भएकाे हाे । ‘तीजको माहोलसँगै राजधानीमा सुरु भएको २२औं ‘डाबर तीज फेस्टिभल तथा सिर्जनशील उद्यमी मेला’ केवल किनमेलको अवसर मात्र नभई नेपाली हस्तकला र परम्परागत सीपलाई नयाँ पुस्तासँग जोड्ने सेतु बन्दै गएको छ,’ उनले भनिन् ।
पूर्वमन्त्री शंकर भण्डारीले नेपाली उत्पादन गुणस्तर भए पनि उचित बजारीकरण र प्रचार–प्रसारको कमीले धेरै उत्पादनले आफ्नो वास्तविक सम्भावना उपयोग गर्न नसकेको उनले बताए । यस्ता मेलाले उत्पादनलाई ग्राहकसँग जोड्ने मात्र नभई अन्तर्राष्ट्रिय बजारसम्म पु-याउने अभियानको हिस्सा बन्नुपर्नेमा जोड दिँदै उनले पश्मिना, हस्तनिर्मित कार्पेट, हिमाली दाल–अनाज, जुम्ला–मुस्ताङको स्याउ — अन्तर्राष्ट्रिय बजारमा उत्कृष्ट गुणस्तरका रूपमा स्थापित हुनसक्ने सम्भावना बोकेको, पूर्वमन्त्री भण्डारीले जिकिर गरे।
मेला अवलोकन गर्न आएकी अभिनेत्री निती शाहले साना मेलाबाट सुरुवात गरेर बिस्तारै आफ्नो ब्रान्ड विस्तार गर्न सकिने सुझाएका दिइन् । तीज जस्ता पर्वका बेला चुरा, पोते र महिला एक्सेसरीजको बजार सम्भावना ठूलो भएका कारण यसले आत्मविश्वास र अनुभव दुवै बढाउने यस्तो प्लेटफर्मको उपयोग गर्न उनले आग्रह गरिन् ।
चर दिनसम्म सञ्चालन भएको तीज मेलामा नेपाली डमर कुमारी ढाकाबाट बनेका विभिन्न परिमार्जित डिजाइनका कपडादेखि स्कार्फ, बेडसिट, ब्ल्याङ्केट, पिजे सेटसम्म, साथै पोतेका गहना, मिथिला कला र नेपाली पेपरका उत्पादनसम्म प्रदर्शनीमा राखिएका थिए । करिब सय स्टल रहेको उक्त मेलामा विभिन्न किसिमका लत्ताकपडा, हस्तकला, कृषि उत्पादन र स्थानीय स्रोतमा आधारित वस्तुहरू प्रदर्शनीका राखिएका थिए ।





























प्रतिक्रिया