काठमाडौं। माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब १ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को १ अर्ब ४ करोड ५२ लाख रुपैयाँको तुलनामा ९२.४५ प्रतिशतले बढी हो। बैंकको व्यवसाय विस्तारसँगै आम्दानीमा भएको वृद्धि र सम्भावित कर्जा नोक्सानी व्यवस्थामा भएको कमीले यो उल्लेखनीय सफलता हासिल गरेको हो।
व्यवसाय बढेसँगै बैंकको खुद ब्याज आम्दानी १५.४१ प्रतिशतले बढेर ५ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी पनि १८.१६ प्रतिशतले बढेर १ अर्ब २८ करोड ५२ लाख रुपैयाँ पुगेको छ।
बैंकले गत वर्ष यो रकम ३५ करोड ३८ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ) छुट्याएको छ। यसले गर्दा बैंकको सञ्चालन नाफा ९९.९१ प्रतिशतले बढेर ३ अर्ब ३३ करोड २ लाख रुपैयाँ पुगेको छ।
बैंकको नाफा बढ्दा प्रतिसेयर आम्दानी पनि ८ रुपैयाँ ९९ पैसाबाट बढेर १७ रुपैयाँ ३० पैसा पुगेको छ। यस्तै, निष्क्रिय कर्जा सामान्य घटेर ३.८६ प्रतिशतबाट ३.८३ प्रतिशतमा झरेको छ। बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड १४ लाख रुपैयाँ र जगेडा कोष ६ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब ७ करोड रुपैयाँ रहेको छ । जसका आधारमा बैंकको लाभांश क्षमता ९.२३ प्रतिशत देखिन्छ। गैर-बैंकिङ सम्पत्ति बिक्रीबाट ४६ करोड १४ लाख रुपैयाँ नियामकीय जगेडाबाट फिर्ता भएको छ भने २ अर्ब ९१ करोड रुपैयाँ बक्यौता ब्याज नियामकीय जगेडा कोषबाट सञ्चित नाफामा सारिएको छ। बैंकको अन्य वित्तीय सूचकहरूमा आधार दर ६.३० प्रतिशत, प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ८ पैसा र मूल्य आम्दानी अनुपात १४.९९ प्रतिशत रहेको छ।
बैंकको निक्षेप र कर्जा दुवैमा राम्रो वृद्धि भएको छ। निक्षेप १६.०९ प्रतिशतले बढेर १ खर्ब १४ अर्ब १८ करोड रुपैयाँ पुगेको छ भने कर्जा ११.७४ प्रतिशतले बढेर १ खर्ब ४१ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ।





























प्रतिक्रिया