काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई रुपन्देहीको भैरहवा कारागारबाट ललितपुरको नख्खु कारागारमा स्थानान्तरण गर्ने निर्णय भएको छ ।
सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले तीन महिनाअघि नै कारागार स्थानान्तरणका लागि निवेदन दिएका थिए, तर गृहमन्त्रीको दबाबमा यो प्रक्रिया रोकिएको निकै चर्चा चलेको थियो ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्माका अनुसार लामिछानेको लिखित मागअनुसार नख्खु कारागारमा स्थानान्तरण गर्ने निर्णय गरिएको हो । सुरुमा लामिछानेले काठमाडौंको डिल्लीबजार कारागारमा स्थानान्तरणको माग गरेका थिए, तर कारागार व्यवस्थापन विभागले सुरक्षाका हिसावले नख्खु कारागारलाई उपयुक्त ठानेको छ । सोहीअनुसार रुपन्देही कारागारलाई पत्राचार भैसकेको छ ।
रुपन्देही कारागारले अब आवश्यक सुरक्षा प्रबन्धसहित लामिछानेलाई नख्खु ल्याउने प्रक्रिया अघि बढाउने छ ।
रुपन्देही कारागारमा लामिछानेलाई राखिएको अवस्था अमानवीय भएको र न्यूनतम मानव अधिकारको समेत पालना नभएको भन्दै रास्वपाका नेताहरूले गुनासो गरेपछि यो विषयले व्यापक ध्यानाकर्षण गरेको थियो। साथै लामिछानेलाई भेट्न पुगेका विभिन्न दलका शीर्ष नेताहरुले कारागार स्थानान्तरणका लागि दबाब दिएका थिए । त्यसपछि राष्ट्रिय मानव अधिकार आयोगले केही दिनअघि रुपन्देही कारागारको निरीक्षण गरेर स्थानान्तरणमा ढिलाइ भएको विषयमा गृह मन्त्रालय र कारागार विभागको ध्यानाकर्षण गराएको थियो।
सामाजिक सञ्जालमा समेत यो विषयले चर्चा पाएको थियो, जहाँ कतिपयले उनको कोठामा एसी र झ्यालसमेत नभएको उल्लेख गरेका थिए । यस्ता गुनासाहरूलाई सम्बोधन गर्न गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा स्थानान्तरण प्रक्रिया अघि बढिरहेको बताएका थिए । गृह मन्त्रालयको निर्देशनपछि कारागार व्यवस्थापन विभागले तत्कालै प्रक्रिया सुरु गरेको हो।





























प्रतिक्रिया