जलवायु परिवर्तनका असरसँग जुध्न साझा प्रयास जरुरी छ -सभापति थापा

जलवायु परिवर्तनका असरसँग जुध्न साझा प्रयास जरुरी छ -सभापति थापा

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । सङ्घीय संसदअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुम देवी थापाले जलवायु परिवर्तनका असरसँग जुध्न साझा प्रयास अपरिहार्य रहेको बताएकी छन् ।

हिन्दुकुश–हिमालय क्षेत्रका मुलुकका सांसदहरुको आजदेखि सुरु भएको बैठकको उद्घाटनमा उहाँले जलवायु परिवर्तनका प्रतिकूल असरले मानव सभ्यता र पृथ्वीका प्राकृतिक स्रोतलाई नै खतरामा पारेको बताएकी हुन् । उनका अनुसार जलवायु परिवर्तनका कारण जैविक विविधताको ह्रास, वायु प्रदूषण र प्राकृतिक विपदाको तीव्रता बढ्दै गएका छन्, जसले अर्थतन्त्रदेखि स्वास्थ्य, कृषि, पर्यटन र ऊर्जा क्षेत्रसम्म प्रत्यक्ष असर पु-याइरहेका छन् ।

सभापति थापाले भनिन्, “जलवायु संकटविरुद्धको लडाइँ विज्ञान र प्रविधिमा मात्र सीमित नभई राष्ट्रिय राजनीति, अर्थतन्त्र र क्षेत्रीय सहकार्यसँग पनि प्रत्यक्ष जोडिएको छ । यसलाई सामना गर्न कार्यकारी, विधायिका र न्यायपालिका तथा राजनीतिक–प्रशासनिक तहबीच घनिष्ठ सहकार्य आवश्यक छ ।” उनले यस सहकार्यलाई गैरसरकारी संस्था, सञ्चारकर्मी र जलवायु क्षेत्रमा संलग्न विज्ञसम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

उनले सांसदहरू नीतिनिर्माता र निर्णयकर्ताको हैसियतले जलवायु विज्ञान र जलवायु कूटनीतिसम्बन्धी ज्ञान तथा सीपलाई अझ विस्तार र परिष्कृत गर्नुपर्नेमा जोड दिइन् । यस क्षेत्रका सांसदबीच क्षेत्रीय जलवायु संसद् स्थापना गर्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिइन् ।

Logo