नाडा अटो शो : टाटाको ह्यारियर ईभी र सुजुकीको ई-भिटाराबीच भिडन्त हुने

नाडा अटो शो : टाटाको ह्यारियर ईभी र सुजुकीको ई-भिटाराबीच भिडन्त हुने

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । १७औं संस्करणको नाडा अटो शोमा भारतमा सर्वाधिक लोकप्रिय रहेका दुई ठूला अटोमोबाइल कम्पनीहरू टाटा मोटर्स र सुजुकीले आफ्ना शक्तिशाली इलेक्ट्रिक एसयूभीहरू नेपाल भित्र्याउने तयारी गरेका छन् । यसपटक, नाडा अटो शो लाई लक्षित गरेर दुई कम्पनीका बहुप्रतिक्षित मोडेल टाटा ह्यारियर ईभी र सुजुकी ई-भिटारा प्रदर्शनीमाराखिने भएको हो । चिनियाँ विद्युतीय सवारी ब्राण्डहरूको दबदबा रहेको अवस्थामा २ यी ब्राण्डबीच पनि कडा टक्कर हुने देखिएको हो ।

सुजुकीको ई भिटारा

जापानी कार ब्रान्ड सुजुकीको पहिलो विद्युतीय कार ई भिटारा केही दिन अघि मात्र नेपाली बजारमा सार्वजनिक गरियो। सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्पले सुजुकीको पहिलो ईभी नेपाली बजारमा ल्याएको हो।
प्यासेन्जर कार सेगमेन्टमा राम्रो पकड रहेको र नेपाली उपभोक्ताको रोजाइमा परेको सुजुकी यसअघि आईसी इन्जिन भर्सनमा उपलब्ध थियो। ई भिटारामा एलएफपी ब्लेड ब्याट्री प्रयोग भएको छ। यसमा ४९ किलोवाट आवर र ६१ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा आउनेछ। सुजुकी ई भिटाराले एक पटकको फुल चार्जमा ५ सय किलोमिटर रेन्ज दिने दाबी गरिएको छ।

सुजुकीले ई भिटारालाई फ्रन्ट ह्वील ड्राइभ अप्सनमा १०७, १२८ र १३५ किलोवाटको तीन मोटर अप्सनमा ल्याउने जानकारी दिएको थियो। ई अलग्रिप अप्सन भएको अल ह्वील मोटर ई भिटारामा भने अगाडि १३५ र पछाडि ४८ किलोवाटको मोटरमा आउने कम्पनीले जनाएको छ। नेपालमा अहिले शोकेसका लागि ल्याइएको ई भिटारामा १ सय ७ किलोवाट मोटर रहेको छ। ई भिटारामा इन्टेरियरमा फ्लोटिङ ड्यूल स्क्रीन, अटोमेटीक क्लाइमेट कन्ट्रोल, ३६० डिग्री क्यामरा, टु स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील, एडास सिस्टम, प्यानारोमिक सनरुफ, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटो होल्ड, हिल डिसेन्ट कन्ट्रोल, हिटेड ओआरभीएम, वायरलेस फोन चार्जरलगायत विशेषता रहेका छन्।

टाटा ह्यारियर ईभी
नेपालमा सर्वाधिक सफल रहेको टाटा मोटर्सले आफ्नो नयाँ ह्यारियर ईभीमा ६५ र ७५ किलोवाट आवरको एलएफपी ब्याट्री विकल्पमा उपलब्ध हुनेछ । भारतमा यसले १५ वर्षको अनलिमिटेड किलोमिटर वारेन्टी पाएको छ, तर नेपालमा यो सुविधा उपलब्ध हुन्छ वा हुँदैन भन्ने कुरा अझै निश्चित भएको छैन । टाटाले यसको रेन्ज ६२७ किलोमिटरसम्म हुने दाबी गरेको छ । ह्यारियर ईभीमा अल ह्वील ड्राइभ मोडलमा २९१ किलोवाटको मोटर रहेको छ, जसले ५०४ न्युटन मिटरसम्म टर्क उत्पादन गर्छ । यसमा नर्मल, स्नो/ग्रास, मड/रट्स, स्याण्ड, रक क्रल र कस्टम गरी ६ फरक ड्राइभिङ मोडहरू पनि छन्, जसले यसलाई नेपालको अप्ठ्यारो भूभागका लागि उपयुक्त बनाउँछ ।

सुजुकी र टाटा दुवैले भारतमा उत्पादन भएका विद्युतीय गाडी अटो शोमा देखाउन लागेका हुन् । चिनियाँ ईभीको अर्को प्रतिस्पर्धा भइरहेको बजारमा यी दुवै ब्राण्डले राख्ने मूल्यले गाडीको ग्राहक आकर्षित हुने नहुने निक्यौल गर्छ । यी कम्पनीहरूले प्रतिस्पर्धी मूल्यमा आफ्ना उत्पादन उपलब्ध गराए भने उनीहरूले आफ्नो विश्वसनीय ब्रान्ड नाम र बिक्रीपछिको सेवाको बलमा चिनियाँ गाडीहरूलाई कडा टक्कर दिन दिने छ । भदौ ३ गतेदेखि ८ गतेसम्म चल्ने अटो शोमा टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ल्याउने अनुमान गरिएको ह्यारीयर ईभीको विषयमा जानकारी दिएको छैन ।

Logo