‘राजनीतिक अराजकता रोक्न ठूला दल एकै ठाउँमा उभिएका हुन्’ -उपसभापति गुरुङ

‘राजनीतिक अराजकता रोक्न ठूला दल एकै ठाउँमा उभिएका हुन्’ -उपसभापति गुरुङ

केन्द्रबिन्दु
12
Shares

लेखनाथ (कास्की) । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशमा राजनीतिक अराजकता र विकृति फैलिएका कारण ठूला दलहरु एक ठाउँमा उभिएका बताएका छन् ।

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ गण्डकी प्रदेश समितिको प्रथम प्रदेश अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उपसभापति गुरुङले राजनीतिक दलहरुमा अराजकता पैदा हुँदा राष्ट्रियता नै कमजोर हुने बताएका हुन् । राष्ट्रियता जोगाउन बिपी कोइरालाले जसरी मेलमिलापको नीति अगाडि सारेर नेपाल आउनुभयो त्यसरी नै वर्तमान अवस्थामा राष्ट्रियता कमजोर भएकाले देशलाई जोगाउन राजनीतिक दलहरु एकै ठाउँमा उभिन जरुरी रहेको बताए ।

राष्ट्रियता, लोकतन्त्र र समाजवाद राष्ट्रिय एकताको मेरुदण्ड भएकाले सबै पार्टी समाजवादलाई माथि उकास्न लाग्नुपर्नेमा उपसभापति गुरुङले जोड दिए । नेपाली राजनीतिलाई सुधारेर जान सक्यौँ भने देशमा देखिएका यावत् विकृति र विसङ्गति अन्त्य भएर जाने उनको भनाइ थियो ।

खेलकुदलाई पर्यटनसँग जोडेर जान सकियो भने खेलाडीमार्फत विदेशमा समेत पर्यटन र खेलकुदसँगसँगै प्रर्वद्धन गर्न सकिनेमा जोड दिँदै खेलजगत् देशको एउटा मात्र अनुशासित पाटो भएको उनले बताए ।

“खेलाडीलाई उत्साहित र आर्थिक रुपमा सबल बनाउन सक्यौँ भने मात्र नेपाली खेलाडीले स्वदेश तथा विदेशमा आफ्नो खेल उत्कृष्ट रुपमा प्रस्तुत गर्न सक्छन्”, उपसभापति गुरुङले भने ।

Logo