‘नाडा अटो शो २०२५’ आजदेखि, दिपलको उड्ने ट्याक्सी प्रधानमन्त्रीले सार्वजनिक गर्ने

‘नाडा अटो शो २०२५’ आजदेखि, दिपलको उड्ने ट्याक्सी प्रधानमन्त्रीले सार्वजनिक गर्ने

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । अटो व्यवसायीहरुको छात्ता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा १७ औं संस्करणको ‘नाडा अटो शो २०२५’ आजदेखि सुरु हुने भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा ‘गो फर मोर’ नाराका साथ आयोजना हुने प्रदर्शनीको उद्घाटन मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको आयोजकको भनाइ छ । यस अटो शोले नवीनतम् प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्णलाई एकै छानामुनि ल्याउने विश्वास गरिएको छ ।

कुनै समय आयातमा मात्रै केन्द्रित रहेका नेपाली अटो व्यवसायीहरूले पछिल्लो समय उत्पादन र एसेम्बलतर्फ ध्यान केन्द्रित गरेका छन् । नाडा शोमा यसको प्रत्यक्ष झलक देख्न सकिन्छ । नेपालमै बनेका हेल्मेट, लुब्रिकेन्ट्स, ब्याट्री र तीन पाङ्ग्रे सवारी साधन पनि प्रदर्शनीमा राखिने छन् ।

भाद्र ८ गतेसम्म आयोजना हुने नाडा अटो शोको यो संस्करण ‘फ्युचर मोबिलिटी’ मा पनि केन्द्रित छ । शोको सबैभन्दा ठूलो आकर्षण फ्लाइङ कार र ह्युमनोइड रोबोट हुनेछ । यसका साथै, नेपालमा एसेम्बल हुने दुई पाङ्ग्रे इलेक्ट्रिक बाइक तथा स्कुटर र तीन पाङ्ग्रे इलेक्ट्रिक सवारीसाधन ‘सामुराई’ पनि प्रदर्शनीमा राखिनेछन् । नेपालमै उत्पादित एसटिसी राइड / इनर्जीका लिड एसिड ब्याट्रीहरू पनि शोमा देख्न पाइनेछ । यो समावेशी प्रदर्शनीले नेपाली अटोमोबाइल क्षेत्रको भविष्यलाई संकेत गर्दछ ।

साथै यस पटककाे अटो शोकै आकर्षण मानिएकाे नेपालकै पहिलो उड्ने ट्याक्सी दिपलको ईभीटोललाई प्रधानमन्त्री ओलीले सार्वजनिक गर्ने भएका छन् । एमएडब्लु वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत भएको सन्देश दिँदै ईभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ) लाई नाडा अटो शो २०२५ मा प्रदर्शनीमा राख्न लागेको हो ।

यसैगरी एमएडब्लु वृद्धिले नेपालमै पहिलो पटक मानव आकारको ह्युमनोइड रोबोटहरु पनि प्रदर्शनीमा राख्ने तयारी गरेकाे छ ।

प्रदर्शनीमा रहने स्टल र ब्रान्डहरू

यसपटकको नाडा अटो शोमा कुल ७५ वटा स्टल रहनेछन् । विभिन्न सेग्मेन्टका गाडी र उत्पादनहरूलाई समेट्ने गरी स्टलहरू विभाजन गरिएको छ । चार पाङ्ग्रे सवारीतर्फ दिपल, अवतार, डोङफेङ, नामी, सेरेस, टाटा, सुजुकी, टेस्ला, आयोन, एक्सपेङ, रिडारा, स्काइवेल, बीवाइडी, फोटोन, आइएडब्लू ब्रम्बी, जेवाई एयर, बिलाभल, एलएस अटो र जिङपेङ गरी १८ वटा ब्रान्डका स्टल रहनेछन् ।

दुई पाङ्ग्रे सवारीमा हिरो, रोयल इन्फिल्ड, जोनसन र यामाहा गरी ४ वटा ब्रान्डले सहभागिता जनाउनेछन् । त्यसैगरी, लाइट कमर्सियल भेहिकल न्यू जोनाउ, डीएफएसके, डोङफेङ, कामा, फोटोन, सोकोन, सीजी केवाइसी/किङलङ, मोन्ट्रा, स्काईवर्थ, काइन्यु, केवाइ/नाभीको र सुनलङ गरी १३ वटा ब्रान्डका स्टल रहनेछन् ।

अटो कम्पोनेन्ट्सतर्फ एशियन, गल्फ, डकह्याम्स, एटिएस एल्गी, माफ्रा, म्याक्ससाइन, वेभेक्स/कुरुमा, मासिमो नेपाल, म्याचिलिन, लिक्वी मोली, एसटिसी राइड/इनर्जी, सिएट टायर, जेके/गुड टायर, स्पाइसर, भुल्कन, आइटिआर/एटिएफ युएसबी/होबी, सिवाइजी, केपिआई एन्ड कोहिनुर, मनाती, इलेक्ट्रिक भेहिकल चार्जर, टाटा ग्रिन, टोटल इनर्जी, स्टुड्स/एसएमके, माइक्रोबिज, होराइजन एफसिटी, म्याक, पीएलओ लगायतका ४० वटा स्टल रहनेछन् ।

यसका अतिरिक्त, नाडाले ‘मेड इन नेपाल पेभेलियन’ र ‘भिन्टेज कार पेभेलियन’ पनि राख्नेछ । नाडाले यसपटक ‘अटो डायलग’ नामक विशेष कार्यक्रम पनि आयोजना गर्दैछ । समग्रमा, नाडा अटो शो २०२५ ले अटो क्षेत्रको सम्पूर्ण इकोसिस्टमलाई एकै छानामुनि ल्याएर नेपाली उपभोक्ता र व्यवसायी दुवैलाई लाभ पुऱ्याउनेछ ।

Logo