काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले उपसभामुखविरुद्ध महाअभियोग दर्ताबारे आएका कुराहरुमा सत्यता नभएको बताएका छन् ।
मंगलबार सांसद्हरुसँग भएको छलफलपश्चात उनले हस्ताक्षर संकलन गरिरहेको अवस्था भएपनि कुनै प्रयोजनको लागि भनेर तय नभएको भन्दै मिडियामा आएका कुराहरु सत्य नभएको बताएका हुन् ।
उनले भने, ‘हस्ताक्षर संकलन गरिरहेको अवस्था हो । कुनै प्रयोजनको लागि भनेर तय गरेका छैनौं । उपसभामुखको विषयमा हामी निष्कर्षमा पुगेका छैनौं । कुनै छलफल पनि भएको छैन । यो विषयमा जुन तरिकाले मिडियाहरुमा कुरा आएको छ त्यो सत्य होइन । उपसभामुखलाई हटाउने प्रस्ताव आजै दर्ता हुँदैन ।’
सोही क्रममा नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडाले भने महाअभियोग लाग्छ लाग्दैँन् थाहा नभएको भन्दै सबै जनासँग छलफल भैरहेको बताए । उनले भने, ‘महाअभियोग दर्ताको कुरामा एक चौथाईले दर्ता हुन्छ बहुमतले निलम्बन हुन्छ । तर महाअभियोग प्रमाणित हुनको लागि दुई तिहाई चाहिन्छ । महाअभियोग लाग्छ लाग्दैन थाहा छैन, त्यही पनि सबै जनासँग छलफल भयो भने सम्भावना नभएको होइन । छलफल पनि भैरहेको छ ।’































प्रतिक्रिया