पुल्चोकमा ‘कोशा’को नयाँ आउटलेटको भव्य शुभारम्भ, अन्तर्राष्ट्रियस्तरमा बजार विस्तारको लक्ष्य

पुल्चोकमा ‘कोशा’को नयाँ आउटलेटको भव्य शुभारम्भ, अन्तर्राष्ट्रियस्तरमा बजार विस्तारको लक्ष्य

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । ललितपुरको पुल्चोकमा ‘कोशा’ले आफ्नो नयाँ आउटलेटको भव्य शुभारम्भ गरेको छ ।

नेपालमा उत्पादित जुटका सामग्रीलाई विश्व बजारमा पु-याउने उद्देश्य बोकेर स्थापित यो ‘कोशा’ ब्रान्ड आरके गोल्छा समूहअन्तर्गत सञ्चालित रहेको छ । वातावरणमैत्री र उच्च गुणस्तरका उत्पादनहरूलाई परम्परागत कला र आधुनिक डिजाइनको मिश्रणमा तयार पार्ने कोशाले यो आउटलेटमार्फत व्यक्तिगत तथा व्यवसायिक आवश्यकताका लागि गिफ्टिङ्ग विकल्पहरू समेत प्रदान गर्ने लक्ष्य राखेको छ । कोशाको यो नयाँ आउटलेट ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गरेका हुन् ।

आउटलेट उद्घाटन समारोहमा मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाले प्लास्टिकको झोला निषेध गर्ने नीति अवलम्बन गर्न लागेको जानकारी दिए । उनले कोशाका जुटका उत्पादनहरूलाई प्लास्टिकको प्रभावकारी र दिगो विकल्पको हुन सक्ने पनि बताए । यसका साथै मेयर महर्जनले ललितपुर महानगरपालिकाभित्र रहेका ७७ हजार घरधुरीमा कम्तीमा एउटा जुटको झोला वितरण गर्ने योजना पनि सार्वजनिक गरे ।

विराटनगरमा आधारित कोशाले करिब ४ हजार कामदारहरूको सहयोगमा परम्परागत नेपाली कला र आधुनिक डिजाइनलाई मिश्रण गरी जुटका आकर्षक सामग्रीहरू उत्पादन गर्दै आएको छ । ह्यान्डब्याग, रग्स, कार्पेट, टेबल म्याटजस्ता उत्पादनहरूले विश्व बजारमा नेपाली हस्तकलाको पहिचान स्थापित गर्ने लक्ष्य राखिएको छ ।

कोशाकी सञ्चालिका तथा परिकल्पनाकार कोमल गोल्छाले यी उत्पादनहरूको माग हालैका वर्षहरूमा उल्लेखनीय रूपमा बढेको बताइन् । ‘हाम्रा उत्पादनहरू वातावरणमैत्री र उच्च गुणस्तरका छन् । हामीले परम्परागत कला र आधुनिक डिजाइनको संयोजनले यी सामग्रीलाई विश्व बजारमा प्रतिस्पर्धी बनाएका छौँ,’ उनले भनिन् ।

आरके गोल्छा समूहका प्रबन्ध निर्देशक राजकुमार गोल्छाले आफ्नो परिवारको जुटसँगको ऐतिहासिक सम्बन्धलाई स्मरण गरे । ‘मेरो हजुरबुबाले नेपालमा आएर गरेको पहिलो व्यवसाय नै जुटको थियो । त्यही परम्परालाई निरन्तरता दिँदै हामीले कोशामार्फत जुटका विविध सामग्री उत्पादन गरिरहेका छौँ,’ उनले भने । उनले थपे, ‘विराटनगरमा हाम्रो उत्पादन केन्द्रमा ४ हजारभन्दा बढी कामदारहरूले रोजगारी पाएका छन् । यो हाम्रो लागि गर्वको कुरा हो ।’

कोशाका उत्पादनहरूले प्लास्टिकको प्रयोगलाई न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । प्लास्टिकको तुलनामा जुटका सामग्रीहरू जैविक रूपमा विघटनशील हुन्छन्, जसले वातावरण संरक्षणमा योगदान पनि पु¥याउँछ । कोशाले व्यक्तिगत प्रयोगका लागि ह्यान्डब्याग, टोट ब्याग, वालेटदेखि व्यवसायिक आवश्यकताका लागि कर्पोरेट गिफ्टहरू र घर सजावटका सामग्रीहरू उत्पादन गर्दै आएको छ । यी सामग्रीहरूले नेपाली हस्तकलाको मौलिकता र आधुनिकताको संयोजनलाई विश्व बजारमा प्रस्तुत गर्ने सम्भावना बोकेको छ ।

ललितपुर महानगरपालिकाको सहयोग र कोशाको नवीन दृष्टिकोणले नेपालको जुट उद्योगलाई पुनर्जनन दिने अपेक्षा गरिएको छ । मेयर महर्जनले व्यक्त गरेको सहकार्यको प्रतिबद्धताले स्थानीय सरकार र निजी क्षेत्रबीचको साझेदारीको नयाँ सम्भावनालाई उजागर गरेको छ ।

कोशाले आगामी दिनहरूमा आफ्ना उत्पादनहरूको दायरा विस्तार गर्ने र विश्वका विभिन्न बजारमा आफ्नो उपस्थिति बलियो बनाउने योजना बनाएको छ ।

कोमल गोल्छाले बताएअनुसार, कोशाले स्थानीय कारीगरहरूलाई तालिम र रोजगारी प्रदान गर्दै उनीहरूको सीपलाई अन्तर्राष्ट्रिय स्तरमा पु-याउने लक्ष्य राखेको छ साथै, ललितपुरको यो नयाँ आउटलेटले स्थानीय बासिन्दाहरूलाई कोशाका उत्पादनहरू नजिकबाट अनुभव गर्ने अवसर प्रदान गर्नेछ ।

Logo