काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाइका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताएका छन्।
विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी इजरायलबाट फर्केपछि शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा ओलीले यस्तो आश्वासन दिएका हुन्।
विपिनको रिहाइका लागि पहल गर्न उनकी आमा र बहिनी गत साउन २७ गते इजरायल पुगेका थिए । नेपाली दूतावासको समन्वयमा उनीहरूले इजरायली राष्ट्रपति आइज्याक हर्जोग, संसद् अध्यक्ष आमिर ओहाना, र विदेशमन्त्री गिडियन साआरसँग भेटवार्ता गरेका थिए। यी भेटमा पद्मा र पुष्पाले विपिनको तत्काल रिहाइका लागि मानवीय र अन्तर्राष्ट्रिय कानुनी आधारमा पहल गर्न आग्रह गरेका थिए।
प्रधानमन्त्री ओलीले आज भने, ‘बिपिनको रिहाइका पहलका लागि सरकारले कुनै पनि कसर बाँकी राखेको छैन।’
विपिन जोशी, जो सुदूरपश्चिम विश्वविद्यालयको टीकापुर कृषि क्याम्पसबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रममार्फत २०८० भदौमा इजरायल गएका थिए, २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए। किबुज क्षेत्रमा भएको उक्त आक्रमणमा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो भने विपिनसहित २५१ जनालाई बन्धक बनाइएको थियो। हमासले नोभेम्बर २०२३ मा विपिनको उपचार भइरहेको भिडियो सार्वजनिक गरे पनि हाल उनको अवस्था अज्ञात छ।































प्रतिक्रिया