सङ्खुवासभा । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिको बाधक बनेको बेथितिको अन्त्य गर्दै सुशासन र पारदर्शी सेवा प्रवाह गर्नु सबै राष्ट्रसेवकको पहिलो शर्त हुनुपर्नेमा जोड दिएका छन् ।
मादी माध्यमिक विद्यालय सङ्खुवासभाको हीरक महोत्सव कार्यक्रमलाई आज सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शिक्षालाई प्रविधि, सीप, क्षमता र उद्यमशीलतासँग जोडेर जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिए । उनले विद्यमान शिक्षा पद्धतिलाई आधुनिक, विज्ञान प्रविधि मैत्री र अनुसन्धान/अन्वेषण लक्षित बनाउन पाठ्यक्रम, सिकाइ पद्दति र अध्यापन विधिमा सुधार गर्ने नीति अवलम्बन गर्नु आवश्यक रहेको बताए ।
“गाउँमा सानाठूला कृषि उद्यमको स्थापना, उत्पादन वृद्धि, रोजगारी सृजना, डिजिटल अर्थतन्त्र र पूर्वाधार विकाससहित शिक्षालाई मूलतःउद्यमशीलतासँग जोड्नुपर्दछ । शिक्षा, स्वास्थ्य, रोजगारीलगायत मानिसका आधारभूत आवश्यकताका क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिनुपर्दछ”, राष्ट्रपति पौडेलले भने ।
उनले शिक्षा समृद्धिको आधार भएकाले शिक्षालाई सीप विकाससँग जोडेर लगानी गर्नुपर्ने धारणा राखे । राजनीतिक परिवर्तन र आधुनिक समयको मागअनुरुप तीव्र विकासको चाहनालाई साकार बनाउने गुणस्तरीय, समयसापेक्ष शिक्षा आजको आवश्यकता भएको उनको भनाइ छ ।
“कृषिलाई आधुनिकिकीकरण, व्यावसायीकरण र औधोगिकीकरण गर्ने किसिमको शिक्षा प्रदान गर्नुपर्छ । समयसापेक्ष पाठ्यक्रम र पठनपाठनको वातावरण सृजना हुनुपर्दछ”, राष्ट्रपति पौडेलले भने । उनले स्वदेशमा बसेर मुलुक र आमनागरिकका लागि केही गरौँ भन्ने सृजनशील जनशक्ति उत्पादन हुनुपर्ने आवश्यकता औँल्याए ।
राष्ट्रपति पौडेलले दिनहुँ ठूलो सङ्ख्यामा विदेशिने युवा शक्तिलाई स्वदेशका विकास, निर्माण तथा स्वरोजगारका क्षेत्रमा आबद्ध गर्न व्यावसायिक वातावरण सुधार गरी रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए । “यसका लागि श्रमको सम्मान गर्ने संस्कृति विकास गर्नुपर्छ । सीप विकासमार्फ गाउँमा रोजगारी र आम्दानीको वातावरण सृजना गरी विदेश पलायन भइरहेका युवालाई स्वदेशमा रोक्ने वातावरण निर्माण गर्न सकिन्छ । यसका लागि सीपमूलक शिक्षा आजको आवश्यकता हो”, उनले भने ।
राष्ट्रपति पौडेलले नेपाली जनताको ठूलो बलिदान, त्याग र सङ्घर्षबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको उल्लेख गर्दै यो व्यवस्थामार्फत समान रूपले स्वतन्त्रताको उज्यालो एवं फराकिलो राजमार्गमा हाम्रो मुलुक अघि बढ्दै गएको धारणा राखे । पछिल्लो समय आफ्नो भाग्य र भविष्य आफैँले निर्माण गर्ने विकासको बाटोमा जनता अघि बढिरहेका उनको भनाइ छ ।
“एउटा ठूलो राजनीतिक परिवर्तनपछि जनताले राखेका तीव्र आकाङ्क्षाको परिपूर्तिमा हुन गएको केही ढिलाइ र कमीकमजोरीलाई देखाएर भ्रमपूर्ण स्थिति सृजना गर्न खोजिएका प्रयत्नहरू विस्तारै निस्तेज हुँदै जानेछन्, समृद्धिको बाटोमा बाधक बनेर देखिने गरेको बेथितिको अन्त्य, सुशासन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्तसहित हामीले काम गर्नुपर्छ”, राष्ट्रपति पौडेलले भने ।





























प्रतिक्रिया