काठमाडौं । भक्तपुर जिल्ला अदालतले आशिका तामाङ र शरण तिरूवालाई आपराधिक उपद्रवको कसुरमा दोषी ठहर गर्दै पाँच दिनको कैद सजाय सुनाएको छ ।
न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय सुनाएको हो । यो मुद्दाको मूल जड सूर्यविनायक नगरपालिकाले भक्तपुरको साँगामा निर्माण गरेको झोलुङ्गे पुलसँग जोडिएको छ । उक्त पुलमा रकम सङ्कलनको व्यवस्था गरिएको थियो, जसलाई लिएर स्थानीय स्तरमा विवाद उत्पन्न भएको थियो ।
सूर्यविनायक नगरपालिकाले राखेको सूचना बोर्डलाई आशिका तामाङ र शरण तिरूवाले च्यातेर क्षति पु-याएको र रकम सङ्कलनको कार्यमा अवरोध गरेको आरोप लागेको थियो । यही विषयलाई लिएर नगरपालिकाले प्रहरीमा आपराधिक उपद्रवको कसुरमा जाहेरी दर्ता गरेको थियो ।
सोही जाहेरीमा आज न्यायाधीश विश्वनाथ भट्टराईको एकल इजलासले गरेको फैसलामा आशिका तामाङ र शरण तिरूवालाई जनही पाँच दिनको कैद, दुवै प्रतिवादीलाई जनही ५०० रुपैयाँ जरिवाना, पीडित पक्ष (सूर्यविनायक नगरपालिका) लाई दामासाहीले ८ हजार ३०० रुपैयाँ क्षतिपूर्ति र दुवै प्रतिवादीले जनही २०० रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको हो ।































प्रतिक्रिया