नेपाली बजारमा सुनको मूल्यले शुक्रबार ऐतिहासिक रेकर्ड तोडेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ६०० रुपैयाँ पुगेको छ। नेपाली बजारमा सुनले पहिलो पटक २ लाखको मनोवैज्ञानिक सीमा पार गरेको हो।
एक महिनाअघि साउन १३ गते १ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको सुन भदौ १३ गते आइपुग्दा ७ हजार ६०० रुपैयाँले उकालो लाग्दै २ लाख नाघेको हो। पछिल्लो एक वर्षमा मात्रै सुनको मूल्य ४४ हजार ५ सय रुपैयाँले वृद्धि भइसकेको छ। गत आर्थिक वर्षको पहिलो दिन अर्थात् २०८१ साउन १ गते सुनको मूल्य एक लाख ४७ हजार ८०० रुपैयाँ कायम भएको थियो । चालु आर्थिक वर्षको पहिलो दिनसम्म आइपुग्दा सुनको मूल्य ३० प्रतिशतले एक लाख ९२ हजार ३०० रुपैयाँ पुग्यो।
२०८१ साल मङ्सिरमा सरकारले सुन र चाँदीको भन्सार महसुल १० प्रतिशतमा झार्ने निर्णय गरेसँगै मूल्यमा व्यापक गिरावट आएको थियो। २०८१ कात्तिकमा १ लाख ७१ हजार रुपैयाँ पुगेको सुनको मूल्य सरकारको उक्त निर्णयपछि मङ्सिर १० गते एकैदिन १५ हजार ९ सय रुपैयाँले घटेर एक लाख ५१ हजार तीन सय रूपैयाँमा झर्यो । त्यसको भोलिपल्ट अर्थात् मङ्सिर गते पनि सुनको मूल्य २ हजार ६०० रुपैयाँले घटेर १ लाख ४८ हजार ७०० रुपैयाँमा सीमित भयो। त्यसपछि सुनको मूल्य उतारचढावका बीच २०८१ पुस ५ मा १ लाख ४८ हजार ५०० रुपैयाँमा झर्यो ।
सुनको मूल्य घटीरहँदा कतिपयले १ हाराहारीमा आइपुग्ने आंकलन समेत गरेका थिए। तर अनुमान ठिक उल्टो भयो। त्यसपछि लामो समयसम्म १ लाख ५० हजारकै वरिपरी रहेको सुनको मूल्य ९ माघ २०८१ मा १ लाख ६० हजार पुग्यो। माघ महिनामा पनि सुनको मूल्य अचाक्ली बढेको महासंघको तथ्यांकले देखाउँछ। २९ माघ २०८१ मै सुनको मूल्यले १ लाख ७० हजार नाघ्यो। २१ चैत २०८१ मा सुनको मूल्य १ लाख ८० हजार ३०० रुपैयाँ पुग्यो। ४ वैसाख २०८२ सुनको मूल्यले १ लाख ९० हजार रुपैयाँ पार गर्यो। त्यसपश्चात लामो समयसम्म सोही वरीपरी रहेको सुनको मूल्यले आज यसअघिका रेकर्ड तोडेको हो।
सुनको मूल्य वृद्धिले आम उपभोक्तामाथि दबाब बढाएको छ। विवाह, धार्मिक तथा सांस्कृतिक कार्यक्रममा गहना खरिद गर्नेहरूको खर्च बढ्नुका साथै सुन व्यवसायमा समेत नयाँ चुनौती थपिएको व्यवसायीहरूको भनाइ छ। आर्थिक वर्ष २०८२÷८३ को बजेटमार्फत विलासिता शुल्क थपिएपछि गहनाको बजार झनै बढेको उनीहरूको अनुभव छ।
सुनको मूल्य अन्तर्राष्ट्रिय बजारको आधारमा निर्धारण गरिन्छ । त्यसैले अन्तर्राष्ट्रिय कारणहरूले गर्दा पनि सुनको मूल्य प्रभावित बन्ने गरेको छ । विश्वका विभिन्न भागमा भएका युद्ध र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विभिन्न देशमाथि लगाएका करका कारण पनि वृद्धि भइरहेको व्यवसायी तथा विज्ञहरूले बताएका छन्।
विज्ञहरूका अनुसार निकट भविष्यमै सुनको मूल्य अझै माथि जाने सम्भावना उच्च छ। विश्व बजारमा अस्थिरता रहेसम्म सुन ‘सुरक्षित लगानी’ को प्रमुख विकल्प बन्ने गरेको छ। पछिल्लो समय विश्वका बैंकहरूले समते सुनमा लगानी बढाउँदै लगेका छन्। फलस्वरूप पनि मूल्य बढ्ने सम्भावना झनै बढेको छ।





























प्रतिक्रिया