१७ वर्षीय अभियन्ता कृष यादव बने ‘ग्लोकल टिन हिरो नेपाल २०२५’

१७ वर्षीय अभियन्ता कृष यादव बने ‘ग्लोकल टिन हिरो नेपाल २०२५’

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । गोल्छा ग्रुपद्वारा प्रस्तुत ‘ग्लोकल टिन हिरो नेपाल २०२५’ को उपाधि धनुषाका १७ वर्षीय अभियन्ता तथा सामग्री निर्माता कृष यादवले जितेका छन् ।

ललितपुरको द प्लाजामा आइतबार सम्पन्न विशेष समारोहमा शीर्ष ६ प्रतिस्पर्धीमध्येबाट छनोट हुँदै विजेता बनेका यादवलाई ग्लोकल प्रा.लि.ले सम्मानित गरेको हो। विगत एक दशकदेखि सञ्चालन हुँदै आएको ग्लोकल टिन हिरो पहलले शैक्षिक क्षेत्रबाहिर असाधारण उपलब्धि हासिल गर्ने किशोर–किशोरीलाई पहिचान गर्दै आएको छ।

प्रतियोगिताको अन्तिम सूचीमा यादवसहित स्याङ्जाकी १७ वर्षीया मानुषी न्यौपाने, कपिलवस्तुका १९ वर्षीय जलवायु न्याय अभियन्ता निश्चल ढुङ्गाना, जुम्लाका १५ वर्षीय नीति अभियन्ता अक्सफोर्ड आचार्य, सर्लाहीकी १८ वर्षीया कृषि उद्यमी रेनुका सिंह र रूपन्देहीका १८ वर्षीय एआई डेभलपर सफल पौडेल परेका थिए।

सामाजिक रूपमा जिज्ञासु कन्टेन्ट क्रिएटरका रूपमा परिचित यादवले सार्वजनिक बहसदेखि वृत्तचित्र निर्माणसम्म सक्रियता देखाएका छन्। उनी ‘टिएनसी अन्स्क‍्रिप्टिटेड’ युट्युब च्यानलमा ‘टिएनसी डिबेट्स’ का होस्ट तथा निर्माता हुन्। त्यस्तै, ‘द नेपाली कमेन्ट’ (४ लाखभन्दा बढी सब्सक्राइबर) का एसोसिएट क्रिएटिभ हेडका रूपमा उनले सामाजिक–राजनीतिक र ऐतिहासिक विषयमा वृत्तचित्र निर्माण गरेका छन्।

यादव हिमालयन भाषाविज्ञान ओलम्पियाड नेपालका राष्ट्रिय संयोजकसमेत हुन्। ‘प्रोजेक्ट विवेक’ मार्फत उनले काठमाडौं उपत्यकाका ४८० भन्दा बढी विद्यार्थीलाई समेटेर शिक्षा प्रणालीबारे सर्वेक्षण गरेका छन् भने ‘प्रोजेक्ट स्टिच’ सह–स्थापना गरेर आदिवासी कपडाबाट आधुनिक झोलाहरू उत्पादन गर्दै आएका छन्।

गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२५ को कार्यक्रममा कूटनीतिज्ञ, राजनीतिज्ञ, शिक्षाविद्, उद्यमी, युवा नेता तथा सेलिब्रेटीहरूको उपस्थिति रहेको थियो। यस वर्षको संस्करण युरोपियन युनियन, भारतको दूतावास, प्लान इन्टरनेसनल लगायतका संस्थाहरूको सहकार्यमा सम्पन्न भएको थियो।

अन्तिम छनोटको काम निर्णायक टोलीले गरेको थियो, जसमा कोका-कोला नेपालकी कन्ट्री डाइरेक्टर सुश्री चन्द्रिका कालिया, डब्ल्यूडब्ल्यूएफ नेपालका कन्ट्री डाइरेक्टर डा. घनश्याम गुरुङ, गोलछा ग्रुपकी निर्देशक सीमा गोल्छा, भाेटका अध्यक्ष सुरज वैद्य र नेपालका लागि युरोपेली सङ्घका चार्ज डी’अफेयर्स थोमस मिलर रहेका थिए। किशोर-किशोरीहरूलाई उनीहरूको आवेदन, रिजुमे, सहयोगी कागजात र उनीहरूको उपलब्धिका बारेमा लेखिएका निबन्धका आधारमा छनोट गरिएको थियो। उनीहरूलाई उनीहरूको सिर्जनात्मकता, उपलब्धि, प्रभाव र सबैभन्दा महत्त्वपूर्ण कुरा, उनीहरूको कामको दिगोपनाका आधारमा मूल्याङ्कन गरिएको थियो।

Skip This
Skip This
Logo