विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न मन्त्री देवकोटा निर्देशन

विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न मन्त्री देवकोटा निर्देशन

केन्द्रबिन्दु
6
Shares

हेटौंडा । हेटौंडा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले मातहतका निकायहरूलाई आफ्नो विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न निर्देशन दिएका छन् ।

उनले एक निकायको काममा अर्कोले हस्तक्षेप गर्ने र आफ्नो विज्ञताभन्दा बाहिर गएर काम गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।

भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा हेटौँडामा आयोजित ‘वार्षिक प्रगति समीक्षा तथा आगामी कार्ययोजना गोष्ठी’को समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री देवकोटाले भने,‘सडकको विज्ञता भएको निकाय हुँदाहुँदै त्यहाँ हस्तक्षेप गर्ने काम बन्द हुनुपर्छ। जसको जे विज्ञता हो, उसले त्यही काम गर्ने हो। अनुशासन र ‘चेन अफ कमान्ड’ सबैभन्दा महत्त्वपूर्ण कुरा हो।’

सहरी विकास कार्यालयहरू सहर र भवन निर्माणमा केन्द्रित हुनुपर्नेमा ग्रामीण सडक निर्माणमा रुचि देखाएकोमा असन्तुष्टि व्यक्त गर्दै उनले यस्ता कार्यले गुणस्तर र जवाफदेहितामा प्रश्न उठ्ने बताए । ‘हामी एउटै मन्त्रालयभित्र त क्षेत्राधिकार मिलाउन सक्दैनौं भने अरू मन्त्रालयले गरेको काममा कसरी प्रश्न उठाउन सक्छौं?’ उनले प्रश्न गरे ।

मन्त्री देवकोटाले प्रदेश यातायात गुरुयोजना (पीटीएमपी) अन्तर्गतका सडकहरूको आर्थिक प्रतिफल र स्थानीय जीविकोपार्जनसँगको सम्बन्धबारे समीक्षा गर्ने बेला आएको बताए । उनले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) ‘कट–पेस्ट’ गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै गुणस्तरीय र वास्तविक धरातलमा आधारित बनाउन निर्देशन दिनुभयो। मन्त्रालयले बहुवर्षीय योजनाहरू र त्यसका लागि स्रोत सुनिश्चितताको विषय दशैँअघि नै टुङ्ग्याउने प्रतिबद्धता पनि व्यक्त गरे ।

कामको विश्वसनीयता र वैधताका लागि तेस्रो पक्षबाट अनुगमन तथा मूल्याङ्कन गर्ने प्रणाली विकास गर्नुपर्नेमा उनको जोड थियो।

मन्त्री देवकोटाले मन्त्रालयले निर्माण गरेका सडक, पुल, भवनजस्ता भौतिक सम्पत्तिहरूको उचित मूल्याङ्कन गरी अभिलेखीकरण गर्नुपर्ने आवश्यकता औँल्याए । राजधानीसमेत रहेको काठमाडौँ उपत्यकामा ठूला र देखिने खालका आयोजनाहरूको कमी भएको भन्दै यस विषयमा विशेष ध्यान केन्द्रित गर्न उनले सम्बन्धित कार्यालयहरूलाई आग्रह गरे ।

कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने जिल्लाहरूलाई सम्मान गर्ने नयाँ परम्पराको सुरुवात गरिएकोमा खुसी व्यक्त गर्दै उनले आगामी वर्ष अन्य जिल्लाहरूलाई पनि बधाई दिन आतुर रहेको बताए ।

Logo