काठमाडौं । नेपाली अटो बजारमा भित्रिएको पहिलो विद्युतीय सवारी (ईभी) महिन्द्राको रेभा कारले ‘इलेक्ट्रिक रिभोलुसन इनिसिएटर अवार्ड’ प्राप्त गरेको छ ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा पहिलोपटक आइतबार भएको ‘केन्द्रबिन्दु ईभी बज पोलिसी डिस्कोर्स २०८२’का अवसरमा नेपालमा ईभीको सुरुवात र प्रवर्द्धनमा महिन्द्रा रेभाले पुर्याएको ऐतिहासिक योगदानको कदर गर्दै यो अवार्ड प्रदान गरिएको हो।
यो गाडी अग्नी इनर्जीले नेपाल भित्र्याएको हो । सन् २०१२ मा रेभा इलेक्ट्रीक नेपालमा विक्री सुरु भएको थियो । सुरुमा रेभाको क्षमता र प्रयोगबारे मानिसहरु सन्देहमा थिए। विद्युतीय कारले नेपालका पहाडी बाटोहरूमा धान्न सक्दैन भन्ने आम धारणा थियो। तर, यसले बिस्तारै ती सबै शङ्काहरूलाई चिर्दै आफ्नो क्षमता प्रमाणित गर्यो। सन् २०१५ मा भारतले लगाएको नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थको चरम अभाव भयो। यो अवस्था महिन्द्रा रेभाका लागि वरदान साबित भयो। इन्धनको लाइनमा बस्न नपर्ने र कम सञ्चालन खर्चका कारण विद्युतीय कारको माग ह्वात्तै बढ्यो। यसै समयमा रेभा ईटूओ मोडल पनि नेपाल भित्रियो, जसले ग्राहकको आकर्षण झनै बढाएको थियोे ।
त्यसपछि अर्को मोडल ‘रेभा इटुओ’ नेपाल आएको थियो । रेभा निकै सानो साइजमा उपलब्ध थियो भने इटुओ केही ठूलो साइजमा थियो । त्यस समयमा रेभाले अधिकतम ८० किलोमिटर रेन्ज दिन्थ्यो भने रेभा इटुओ १०० किलोमिटरसम्म गुडाउन सकिन्थ्यो । रेभामा लिड एसिड व्याट्री थियो भने रेभा इटुओमा लिथियम आयोन व्याट्री थियो ।
महिन्द्रा रेभाको सफलताले अन्य कम्पनीहरूलाई पनि विद्युतीय सवारीसाधन नेपाल भित्र्याउन प्रोत्साहन गर्यो। यसले नेपालमा विद्युतीय गाडीको बजारलाई स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्यो र अहिले विभिन्न कम्पनीका थुप्रै विद्युतीय कारहरू नेपाली सडकमा गुडिरहेका छन्। एकपटकको फुल चार्जमा ५०० किलोमिटरसम्म रेन्ज दिने विद्युतीय गाडी आयात सुरु भैसकेको छ ।





























प्रतिक्रिया